अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 07:26

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको संख्या २८१ पुग्यो

बिआरटीनेपाल २०७५ पुष ९ गते ८:३८ मा प्रकाशित

इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको संख्या २८१ पुगेको छ । ज्वालामुखी विस्फोटपछि भीषणरुपमा आएको सामुद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ ।

इन्डोनेसियाका सुन्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीको कारण सोमबार बिहानसम्म २८१ व्यक्तिको मृत्यु भएको हो । साथै, एक हजारभन्दा बढी घाइते भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी दिनुभयो ।

यस प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौं भवन ध्वस्त भएको प्रवक्ता सुटोपोको भनाई छ । खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने सुटोपोले बताउनुभयो ।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ । शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीहरुले ‘क्राकाटोआ’ नामकरण गरेका छन् । भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुन्द्र मुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।

यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो । यसअघि, जुन, अगस्ट र सेप्टेम्बरमा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण दुई हजार २०० व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू