अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२५ | Colorodo: 20:40

सेयर लगानीकर्ताको आमरण अनसन तोडियो

बिआरटीनेपाल २०७५ पुष ६ गते ९:१९ मा प्रकाशित

मुद्रा तथा पुँजी बजार समस्या समाधानका लागि गठित समितिले सेयर लगानीकर्ताका अधिकांश मागलाई सम्वोधन गरेसँगै सेयर लगानीकर्ताले आमरण अनसन तोडेका छन्। पुँजी बजार सुधारका लागि विभिन्न माग राख्दै सेयर लगानीकर्ता तिलक कोइराला र हरि ढकाल ४ दिनदेखि नेप्से परिसरमा आमरण अनसन बसेका थिए।

समितिले तयार गरेको प्रतिवेदनका सुझावहरु कार्यान्वयन नहुँदासम्म लगानीकर्ताले दवाव भने दिइरहने भएका छन्। प्रतिवेदनले सेयर धितोमा जाने कर्जा बढाउन सुझाव दिएको छ। हाल सेयर धितो कर्जामा बजार मूल्य वा पछिल्लो ६ महिनाको औसत मूल्यको ५० प्रतिशत रकम मात्रै ऋण दिन पाउने व्यवस्था छ।

यसलाई बढाएर ६५ वा ७० प्रतिशत कायम गर्न प्रतिवेदनले सुझाएको छ। हालको मौद्रिक नीतिले अटो क्षेत्रमा जाने कर्जालाई ५० बाट बढाएर ६५ पुर्याए पनि सेयर धितोमा भने यथावत राखेपछि लगानीकर्ता सरकारसँग रुष्ट बन्दै आएका थिए। त्यस्तै सेयरको वेटेड रिस्क (पुँजीगत जोखिम भार)लाई घटाइने भएको छ। हाल सेयर कर्जालाई १५० प्रतिशतको जोखिम भार मानिँदै आएकोमा यसलाई १ सयमा झार्न प्रतिवेदनले सुझाएको छ। सेयरको बजार मूल्य अहिले कम भएको र जोखिम पनि घटेको ठहर गर्दै समितिले जोखिम भार घटाउन भनेको हो। बजार मूल्य अनुरुप सेयरको जोखिमभारलाई परिवर्तन गर्दै लैजान सकिने प्रतिवेदनमा औंल्याइएको छ।

त्यस्तै नागरिक लगानी कोषलाई मार्केट डिलरको रुपमा विकास गर्नका लागि प्रतिवेदनले सुझाएको छ। स्रोतका अनुसार कोषलाई सहायक कम्पनीमार्फत मार्केट डिलरको काम गर्ने जिम्मा दिइने भएको छ। सहायक कम्पनीले कति रकमबाट मार्केट डिलरको काम गर्ने भन्ने सम्वन्धमा कोषलाई नै जिम्मा दिइने भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू