दुई लघुकथा
एक दिन ओपन फ्यूचर इङ्लिस स्कुलको कक्षाकोठामा लुकेर बसेका दुई पात्रहरू नतिजा र संस्कार बिचमा घमासान विवाद भयो । आफू आफूमा को ठुलो र को बढी आवश्यक भन्ने विषयमा विवाद चर्केको थियो । विवाद समाधानका लागि कोही कसैको तागत चलेन । दुवै एकर्कासँग नडग्ने भए । यही कुराको छिनोफानोका लागि दुवै अर्को पात्र रकमकहाँ पुगे ।
रकम: तिमेरूको विवादको खास कारण चाहिँ के हो ?
संस्कार: यो सधैँ मलाई बेकामी र बेअर्थी भनेर होच्याइ रहन्छे । आफू मात्र ठुलो हू भन्ने भूत लागेको छ यसलाई ।
रकम: के संस्कारले भनेको कुरा सही हो त नतिजा ?
नतिजा: यो पनि मलाई वाहियात र भ्रमपूर्ण भनेर गिज्याउँछ नि । यसलाई चाहिँ मलाई भए नभएको आरोप लगाउने अधिकार कसले दियो ?
यता पनि उनीहरूको चुरी फुरी रोकिने छेक छन्द देखिएन । अन्त्यमा हस्तक्षेपकारी भूमिकामा रकमले फैसला गर्यो ।
तिमीहरू दुवै वास्तवमै बेकामी, बेअर्थी र भ्रमपूर्ण छौ । तिमीहरूलाई देखाएर मात्र यो विद्यालय विद्यालयजस्तो देखिएको मात्रै हो । यहाँ त म सबैभन्दा ठुलो मानिन्छु । तिमीहरू दुई मध्येमा नतिजालाई केही हदसम्म यस ठाउँमा ठुलो मानिएला तर तँ संस्कारको कुनै कामै छैन यहाँ । तँ भए पनि नभए पनि नतिजा र म भए यहाँ पुग्छ, बुझिस् ?
संस्कार कालो मुख लगाएर त्यस स्कुलबाट सधैँका लागि अर्कै मुलुकतिर कुलेलम ठोक्यो । त्यस दिनदेखि त्यो ओपन फ्यूचर इङ्लिस स्कुल जनतामाझ ह्वात्तै चर्चित भयो ।
मिस्प्लेस्ड म्यासेज
शङ्खरापुर माध्यमिक विद्यालयमा समीक्षा बैठक बसिरहेको थियो ।
प्रधानाध्यापक कनक सरले यस वर्षको दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल समीक्षा र अभिभावक भेटघाट कार्यक्रमको तात्पर्यमूलक मन्तव्यसहित हाल सम्मका कक्षागत नतिजाको उपलब्धिमूलक चार्टको पावर प्रेजेन्टेसन गरिरहेका थिए । यत्तिकैमा कक्षा १० का एक विद्यार्थीका अभिभावकले हात उठाएर जिज्ञासा राखे:
–‘सर, यस पटककको परीक्षामा कमजोर नतिजा भएका विद्यार्थीहरूलाई पढाइमा माथि उठाउन के कस्तो योजना बनाउनुभएको छ ?’
आफ्नो प्रेजेन्टेसनलाई बिचमा रोक्दै कनकसर बोले – ‘यसका लागि पनि केही शैक्षिक रणनीति बनाउँछौँ । मैले मात्रै गरेर केही हुने होइन । सबै शिक्षक साथीहरू एक भएर लाग्नुपर्ने विषय हो –यो । म यस विषयमा शिक्षक साथीहरूसँग सरसल्लाह गरेर समन्वय गर्ने छु ।’
कनकसरको भनाइपछि सोही विद्यालयका अर्का शिक्षक गिरिराज सरलाई यो कुराले कताकता घोचेजस्तो अनुभव गरे । उनले तत्कालै कनकसरसँग जिज्ञासा राखे –‘सर के भन्न खोज्नुभएको हजुरले ? के हामीले पढाएनौ भन्ने आशय हो यहाँको ?’
–‘हो, यहाँले सही बुझ्नु भो । मेलैजस्तै यहाँहरूले पनि लगनशील भएर पढाएको भए आज यो अवस्था नै आउने थिएन । आखिर सबैले तलब उही स्केलमा खाएको होइन आफ्नो तह तह अनुसार । नेपाल सरकाले तोक भन्दा बाहेक मैले महिनाको पाँच सय रुपैयाँ प्रअ भत्ता बढी लिएको त हुँ । अरू के फरक छ र ?’ कनकसरका आँखा राता भइसकेका थिए । कन कसर फेरि आफ्नो प्रेजेन्टेसनलाई निरन्तरता दिन थाले । यत्तिकैमा ल्यापटपको खुल्ला फेसबुके प्यासेन्जरमा म्यासेज आयो –‘लौन कनक सर कता हो तपाईँ । हिजोको हारेको पैसा उठाउन परेन ? सबै जना स्वीट रेष्टुरेन्टमा आइसक्यौँ । फोन पनि अफ् छ । छिटो आउनुस् । छाडिदिनुस् क्लास, भोलि लिए पनि हुन्छ ।’
उपस्थित सबैका ध्यान पर्दामा देखिएको म्यासेजमा पुग्यो । सबै मुखामुख गर्न थाले । यत्तिकैमा कनकसरले भने –‘आजभोलि यो मिस्प्लेस्ड म्यासेजले पनि दिक्क लगाइसक्यो ।
(प्रकाश परिष्कार-शिक्षक, लिटिल स्टार इङ्लिस स्कुल, मन्थली ।)