चर्चाको भोक नेपालीलाई जति संसारमा अरू कुनै जातिलाई होला कि नहोला ? पेटमा मुसा कुदे पनि चर्चा हराउनु हुँदैन । अनिकालको भोक बरु भोक हुँदैन होला, त्यो भन्दा माथिल्लो तहको चर्चाको भोक छ नेपालीमा ।
उदाहरणको लागि –
कविहरू – तथानाम लेखेर भए पनि
कलाकारहरू – नांगिएर होस् या जानाजान विवाद खडा गरेर होस्
लेखकहरू- जस्तोसुकै कुतर्क सिर्जना गरेर होस्
राजनीतिज्ञहरू- अनेक अनेक अराजक फँडा मच्चाएर भए पनि
समाजसेवामा लागेकाहरू – बूढाबूढीलाई नुहाइदिए देखि नंग काटी दिएकोसम्म भिडियो अपलोड गरेर भए पनि चर्चामा आउन खोजिरहन्छन् ।
अरूको के कुरा देशको प्रम भइसकेको मान्छेमा पनि चर्चाको भोक उत्तिकै छ । संसारमा उहिल्यै प्राक्टिसमा आएको त्यति सामान्य निर्णय श्रमिकको पक्षमा हुँदा नेपालमा नयाँयुगकै सुरुवात हुन्छ त ? नयाँ युग भनेको के हो ? अनि त्यसको सुरुवात ??
कुनै क्षेत्र पनि अछुतो छैन । प्रायः हरेक कसरी चर्चित हुने भन्ने कुराले भोको छ ।
शृंखला आफै जिते त ठिकै छ । स्वाभाविक रूपमा समर्थनमा एक एक भोट हाल्नु पनि ठिकै छ । तर सयौँ आइडी बनाएर शृंखला खतिवडालाई भोट दिनु र जिताउन खोज्नु नेपालको नामसँग जोडिएको कुरा मात्र हो कि नेपालीहरूको भ्रष्ट मानसिकताको प्रदर्शनी पनि हो ?
के ती देशका मान्छेले त्यो देशलाई माया गर्दैनन् जुन देशबाट प्रतिनिधित्व गर्ने मिस वर्ल्डहरूको भोट कुल खसेको मतको १% पनि छैन ? के शृंखला खतिवडाले मिस वर्ल्ड जितिन् भने नेपाललाई संसारले चिन्ने होलान् र ? अनि चिनेर चाहिँ के होला ? मलाई अरूले चिनिरहँदा मलाई के हुन्छ फाइदा जब कि म भिख मागेर हिँडिरहेको छु भने । म पनि अनुहार देखाउन लायक हुनु पर्दैन । म अर्थात् देशले केही नगरे पनि हुन्छ ? अनुराधा कोइराला, पुष्पा बल्नेतहरूले सी एन एन हिरो भइदिए पुग्छ ? प्रशान्त तामाङले इन्डियन आइडल भइदिए सारा गोर्खालीको छाती यत्तिकै बयालिस इन्चको भइहाल्छ ? एउटा कलाकारले जिते जरुर त्यो कलाकारको भविष्य बनिन्छ । तर देशले कहिले जित्ने ? देशको भविष्य कहिले बन्ने ? के गर्दा देशले जित्छ ? देशले जित्नु भनेको के हो ? के त्यो शृंखला खतिवडाले मिस वर्ल्ड या अनुराधा कोइरालाले सी एन एन हिरोमा जितेपछि सकिने कुरा हो ? या अरू त्यस्तै केही ?
के एउटी चेलीलाई विश्वसुन्दरीमा भोट दिएर जिताएर उनको नामबाट देशलाई चिनाउनु पर्ने यस्तो झिनो सपनामा झुन्डिएर देशका नौजवान अनेक आइडीबाट अनलाइनमा भोट हालिरहँदा हात फतक्क गल्दैनन् ? जबकि सरकारले अझसम्म निर्मला पन्तको हत्यारा माथिको छानबिन प्रतिवेदन समेत सार्वजनिक गर्न सकिरहेको छैन । के साँच्ची दिक्क लाग्दैन ‘नयाँ युग’ को वितन्डा देखेर ?
राम्रो होस् न होस् ‘राम्रो’ भनिदिनु पर्यो । गतिलो होस् नहोस् ‘गतिलो’ भनिदिनु पर्यो । हुनलाई जतिसुकै दु:ख भए पनि ‘नेपाल जस्तो आनन्दको देश संसारमा कुनै छैन’ – यदि कोही विदेशीले यति भनिदिन्छ भने त्यति भए पुग्छ नेपालीलाई । त्यो व्यक्ति सबैको निम्ति लालगेडी बनिदिन्छ । सत्य यति कठिन भइसक्यो कि त्यसलाई पचाउने शायद कुनै हजमुला छैन ।
शृंखलाको चर्चा- त्यसमा पनि सरकार चलाउने नेताहरू नै त्यसको पछि लागिदिए पछि के चाहियो । बाँदरलाई लिस्नो । सबै गुटुटु त्यसैको पछि छन् । मैले शृंखला खतिवडाको विरोध गरेको होइन । ऊनले जितुन् । म पनि खुसी नै हुन्छु । तर यसरी भने होइन । त्यसो त मलाई व्यक्तिगत रूपमा कोही कोहीले शृंखलालाई निर्मलाको तस्बिरको समानान्तरमा राखेर दाँजेको मन परेको छैन । किनकि निर्मला वलत्कृत भइन् । मारिइन् । त्यसमा शृंखलाको के दोष ? दोष त त्यही अपराधीको हो नि ! तर त्यसको असर शृंखलाले भोग्नु परिरहेको छ । किनकि निर्मलाको न्यायको निम्ति एक शब्द नबोल्ने नेताहरूले शृंखलाको पक्षमा भोट मागेको कारणले जनतामा विद्रोह जागेको छ । यसर्थ कि, जनताहरू राज्यमा दण्डहीनता बढ्दै गएको हो कि भनेर बहुत चिन्तित छन् ।
यी कम्मर कसेर शृंखलालाई भोट माग्न कस्सिएका नेताहरू यसरी नै खटेर वर्ष दिन नपुग्दै भत्किएको सडकको यथार्थ बुझ्न लागि परेका छन् ? अस्पतालको लापरबाही र जन गुनासोमा यसरी नै समय दिएर लागि परेका छन् ? कति भयो हजारौँ वैदेशिक रोजगारमा जानेहरूको श्रम मन्त्रालयमा लागेको भीड र त्यहाँको भ्रष्टाचार र विचौलियाको बिगबिगी रवि लामिछानेले देखाएको ? त्यहाँ ईश्वर पोखरेल र योगेश भट्टराई गएर जनताको समस्या बुझेको सुन्नु भएको छ ? त्यो विषयमा कुनै टुइट ? स्टाटस ? कुनै पहल ? अनि मिस वर्ल्ड जितेर आएर शृंखला खतिवडाले यिनीहरूकै छत्रछायाँमा रहेर देश बदल्ने ? यो पनि हुनसक्छ कतै ?
कति छन् अरू लाखौँ समस्या ? भन्सारका समस्या ? हरेक जसो सहरमा प्रहरीकै मिलेमत्तोमा हुने गरेका ओमन ट्राफिकिंगका समस्या ? छौपडी समस्या ? छुवाछुतका समस्या ? यी विश्व सुन्दरीमा सृंखलालालाई जिताउन दिलो ज्यान दिएर लागेका क-कसले बोलेका छन् काठमाडौँमा माइक्रोमा भाडा उठाइरहेका हजारौँ नावालककहरूको भविष्यको पक्षमा ? तिनीहरूले राजनीति गर्दै आएको पार्टीसँग के योजना छ त्यसमाथि ? अनि के हुन्छ शृंखला विश्व सुन्दरी भएर ? देशको नाम संसारमा चम्किन्छ ? नेपाललाई संसारले चिन्छन् ? हो ? क-कसले हेर्छन् मिस वर्ल्ड कम्पिटिसन ? यहाँ त ९५ % मान्छेलाई यो पनि थाहा छैन होला कि यति बेला संसारको कुनै ठाउँमा मिस वर्ल्ड प्रतियोगिता हुँदैछ । यस्तो फोस्रो चर्चाको पछि देशको नाम रहन्छ भनेर लागि पर्नु मूर्खता हो । अझै पनि व्यक्तिगत रूपमा शृंखलाको भविष्य भने जरुर बदलिन्छ । उनलाई यस अर्थमा भने हार्दिक शुभकामना ! यसमा मेरो कुनै पूर्वाग्रह छैन ।
पूजीबादले सुन्दरतालाई कसरी लिन्छ ? त्यो धेरैलाई भनिरहनु पर्दैन । अझ कला र बौद्धिकता पनि पुँजीले खरिद गर्छ नै । नेपालको ब्रेन ट्रेन त्यसैको उपज हो । बौद्धिक सुन्दरता र शारीरिक सुन्दरताका दुवै बखानहरू अन्ततः: पुँजीवादको महासागरमा विलय हुन्छन् । देखियो – कम्युनिस्ट भनिनेहरू पनि सुन्दरता भनेपछि हुरुक्क हुँदा रहेछन् ! त्यसमा पनि आफ्नो सुन्दरता भनेपछि त्यसमा आफै जलर खरानी नै हुन खोज्दा रहेछ ! अनि सुन्दरतालाई पुँजीवादले जतिको माया कसैले गर्दैन । यति माया गर्छ कि गोजीमै बोकेर हिँड्छ । साह्रै माया गर्छ – काखमै सुताउँछ । बहुत अनौठो छ रहस्य ।
तर कुरो चर्चाको छ । जसरी हुन्छ चर्चा बटुल्नु पर्ने रहेछ भन्ने कुराले अझ जरा गाड्दै लगेको छ नेपाली जनमानसमा। जीवनमा संवृद्धि भनेकै चर्चा हो भन्ने कुरामा पुरा विश्वास हुन थालेको छ । यसर्थ यही चर्चाको सिद्धान्तलाई आधार मानेर भन्दा के भन्न सकिन्छ भने – शृंखलाको विजय पनि समृद्धिको महाअभियानमा एउटा इट्टा जरुर हुनसक्छ । त्यसो हुँदा भात पानी छोडेर एकै व्यक्तिले सयौँ भोट गरेर पनि शृंखलाको भोट चालिस प्रतिशत भन्दा तल झर्न दिनुहुन्न । नेपाललाई संसार सामु चिनाउनु पर्छ ।
हगि त ? नेपाललाई संसारमा चिनाउने कस्तो गज्जब काइदा ?
अँ अनि चर्चाकै कुरा गरिरहँदा – नेपाल आइडल र द भ्वाइस अफ नेपालमा पनि चर्चाको निम्ति बडो भिडन्त छ । देखिन्छ कलाको प्रतिस्पर्धा तर छ पुँजीको खेल । त्यसको चरम फाइदामा मुस्कुराइरहेछ पुँजीवाद – टेलिकम र आयोजकको ओठ भएर । लाखौँ भेला पारेर, मान्छेहरू हायर गरेर ड्याङ कि ड्याङ भोट गरिरहेछन् फ्यानहरू । कस्तो राम्रो तरिका आइडल हुने ? गज्जब छ । गज्जब ।
यतिसम्म भए पनि कुनै दिन चर्चाका नयाँ विधि फेला नपारेर नेपालीहरू एकपछि अर्को लाइन नै लागेर सामूहिक आत्महत्या गर्ने तर्फ लाग्ने अवस्था भने नहोस् । कुनै पनि कुरा नसा बन्दै गए पछि त्याग्न गाह्रो पर्दै जान्छ । बेलैमा नेताहरूलाई पनि सुधारौ । जनता पनि सुध्रौं । र देशलाई साँच्चै नै संसारमा चिनाउन सक्ने कामहरू गर्दै अघि बढ्न सकौँ ।
हामी सबैलाई असीम शुभकामना ।