अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 22:07

तराई फास्ट ट्रयाक निर्माण रोक्न संसदको राज्य व्यवस्था समितिले रक्षा मन्त्रालयलाई निर्देशन दिने

बिआरटीनेपाल २०७५ मंसिर १० गते ८:४८ मा प्रकाशित

तराई फास्ट ट्रयाकको निर्माण रोक्न सांसदहरूले माग गरेपछि संसदको राज्य व्यवस्था समितिले निर्माण रोक्न रक्षा मन्त्रालयलाई निर्देशन दिने भएको छ । समितिको सोमबारको बैठकमा सांसदहरूले फास्ट ट्रयाक निर्माणमा जुटेको सेनाप्रति आक्रोश पोखेका थिए ।

बैठकमा कांग्रेस सांसद दिलेन्द्र बडूले सेनाले हतियार देखाएर काम गरेको भन्दै विरोध जनाउनुभयो । डिपिआर तयार नगरी हतियार देखाएर काम भैराखेको उल्लेख गर्दै उहाँले उक्त काम तत्काल रोक्न माग गर्नुभयो । संघीय फोरमका सांसद राजेन्द्र श्रेष्ठले डिपिआर तयार नभइकन सेनाले फास्ट ट्रयाक अगाडि बढाउनुलाई ‘तिर्खा लाग्यो भनेर ढलको पानी पिए’ जस्तै भएको टिप्पणी गर्नुभयो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले समेत फास्ट ट्रयाकको प्रस्थान बिन्दुमा सेनाले ज्यादती गरेको आरोप लगाएका छन् । जबरजस्ती हतियार लिएर गएका सेनालाई काम गर्न दिन नहुने नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । श्रेष्ठले हतियारसहित खटिएको सेनाको फोटो कसैले खिचेर राष्ट्रसंघमा उजुरी गर्न सक्ने समेत खतरा औल्याउनुभयो । नेकपाकै अर्का सांसद पम्फा भुषालले पनि आर्मीको मुढेबलले विकास नहुने दाबी गर्नुभयो । नेकपाकै अर्का सांसद नवराज सिलवालले पनि जनता रुवाएर तथा उनीहरुलाई घरबारविहीन बनाएर विकास गर्न नहुने बताउनुभयो ।

राज्य व्यवस्था समिति सभापतिसहितको टोलीले एक महिना अघि फास्ट ट्रयाकको प्रस्थान बिन्दुको अवलोकन गरेको थियो । समितिले सोमबार प्रस्थान बिन्दु पर्ने ललितपुर वडा नं २१ र २२ का वडा अध्यक्षलाई समेत बोलाएर छलफल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू