नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइडवडी विमान खरिदका कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिवद्धता जनाउनुभएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै खरिद प्रकरणका कागजपत्रहरु माग गरेपछि मन्त्री अधिकारीले २४ घण्टाभित्र बुझाउने प्रतिवद्धता जनाउनुभएको हो ।
सार्वजनिक चासोको विषयमा संसदीय समितिमा छानबिन हुनु सकरात्मक भएको भन्दै उहाँले समितिबाट हुने छानबिनमा मन्त्रालयको पूर्ण सहयोग हुने बताउनुभयो । आफू मन्त्री हुँदा उक्त विमान खरिद प्रक्रिया पूरा भइसकेको तर, त्यसको नैतिक जिम्मेवारी लिने भन्दै मन्त्री अधिकारीले अरु दोषी देखिए पनि कारबाही गर्ने बताउनुभयो ।
समिति बैठकमा सांसदहरुले वाइडबडीको स्वामित्व प्रष्ट नभएको भन्दै प्रमाण पेश हुनुपर्ने धारणा व्यक्त गरेका थिए । नेकपाका सांसद भीम रावलले वाइडबडी विमान आएको तर त्यो किनेर ल्याएको हो कि भाडामा ल्याएको हो भन्ने प्रष्ट नभएकाले खरिद गरेको प्रमाणपत्र नै उपलब्ध हुनुपर्ने माग गर्नुभएको थियो । बैठकमा कांग्रेस सांसद सुजाता कोइराला, दिव्यमणि राज भण्डारी, प्रकाशमान सिंह, डा. नारायण खड्का, नेकपा सांसद अग्नि सापकोटा, सांसद नारदमुनी राना लगायतले उपसमिति गठन गरी विस्तृत छानबिन हुनुपर्ने माग गर्नुभएको थियो ।