अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 06:09

पोखरा महानगरका योजनालाई व्यवस्थित गर्न सफ्टवेयर

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ८:३९ मा प्रकाशित

पोखरा महानगरपालिकाले योजना सञ्चालन तथा व्यवस्थापन गर्नका लागि सफ्टवेयर निर्माण गरेको छ । सफ्टवेयरको मंगलबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले आफ्नै एकाउन्ट निर्माण गरी शुभारम्भ गर्नुभयो । सफ्टवेयरको शुभारम्भ गर्दै मेयर जिसीले सरोकारवालालाई कामप्रति जिम्मेवार बनाउन सफ्टवेयर निर्माण गरिएको बताउनुभएको छ । सिष्टमको विकास गरेर योजनाका कामलाई पारदर्शी र व्यवस्थित बनाउन यसले सहयोग पुर्याउने मेयर जिसीको भनाई रहेको छ ।

सफ्टवेयरले योजना महाशाखा र आर्थिक प्रशासन शाखाबीच समन्वय गर्न पनि सहयोग पुर्याउने उहाँले बताउनुभयो । सफ्टवेयरमा योजनाको सम्झौता, सुरु मिति, सम्पन्न मिति पनि राखिने हुनाले तोकिएको मितिमा काम सम्पन्न नभएमा भुक्तान नदिने व्यवस्था पनि गर्न लागिएको प्रमुख जिसीको भनाई थियो ।

महानगरले निकाल्ने वार्षिक योजना पुस्तिकामा समावेश भएका योजनालाई सफ्टवेयरमा राखिने योजना महाशाखा प्रमुख शारदा मोहन काफ्ले जानकारी दिनुभयो । उहाँका अनुसार योजनाको सम्पूर्ण विवरण सफ्टवेयरमा हेर्न सकिने छ । पहिलो चरणमा पूर्वाधार विकास कार्यक्रममा समावेश गरिएको योजनालाई सफ्टवेयरमा राखिने र क्रमशः अन्य विषयका कार्यक्रमलाई समेटिने सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू