राष्ट्रपति विद्यादेवी भण्डारी मंसिरको तेस्रो साता पोल्याण्डको भ्रमणमा जानुहुने भएको छ । संयुक्त राष्ट्रसंघले पोल्याण्डको क्याटोवाइसमा मंसिर १७ गतेदेखि १४ गतेसम्म आयोजना गर्ने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार राष्ट्रपति भण्डारी सम्मेलनमा सहभागी हुन मंसिर १५ गते पोल्याण्ड प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिको पोल्याण्ड भ्रमण ५ दिनको हुने उहाँले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका सम्बन्धमा नेपालको धारणा राख्ने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । जलवायु परिवर्तन नेपालको लागि खाँदै नखाएको विष लागेजस्तो भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले उच्चस्तरीय तहबाट यसले नेपालमा पारेको असरमा बारेमा सम्मेलनमा कुरा राख्दा प्रभावकारी हुने बताउनुभएको छ । । यसै कारण राष्ट्रपतिलाई सम्मेलनमा सहभागी हुन पठाउन लागिएको मन्त्री ज्ञवालीको भनाई छ ।