आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो ।
गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा यही मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिएका छन । जिल्लाका सरोकारवालासँगको छलफल र तयारीपछि राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ हुने उनले बताए ।
राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा गत कात्तिक २० गतेसम्ममा ५० हजार ९७४ को नेपाली नागरिकको विवरण सङ्कलन भइसकेको विभागका महानिर्देशक काफ्लेले जानकारी गराए ।
पाँचथरका छ वटा स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने कार्य पूरा भइसकेको विभागका निर्देशक शिवराज जोशी बताउन्छन । सरकारले आगामी तीन वर्षभित्र सबै नेपाली नागरिकको पूर्ण विवरण रहेको राष्ट्रिय परिचयपत्र वितरण गर्दैछ ।