अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 23:53

श्रीलंकामा नयाँ राजनीतिक मोडः प्रधानमन्त्री राजपाक्षद्धारा पार्टी परित्याग

बिआरटीनेपाल २०७५ कार्तिक २६ गते ६:५६ मा प्रकाशित

श्रीलंकाका नयाँ प्रधानमन्त्री महिन्दा राजपाक्षे र अन्य ४४ राजनीतिज्ञले राष्ट्रपति मैत्रीपला सिरिसनाले नेतृत्व गरेको पार्टी परित्याग गरेका छन् । सिरिसेनाले प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको २ हप्तापछि प्रधानमन्त्री राजापाक्षेले यो कदम उठाउनुभएको हो । सिरिसेनाले शुक्रबार राती श्रीलंकाको संसद भंग गर्दै जनवरी ५ मा आम निर्वाचन आव्हान गर्नुभएको थियो । उहाँको यो कदमले श्रीलंकाको राजनीतिक संकट झन गहिरिने अनुमान गरिएको छ । दुई हप्ताअघि सिरिसेनाले रनिल विक्रमासिंघेलाई अचानक प्रधानमन्त्री पदबाट बर्खास्त गरेर पूर्वराष्ट्रपति समेत रहेका राजपाक्षेलाई प्रधानमन्त्री बनाएपछि श्रीलंकामा तीव्र राजनतिक संघर्ष शुरु भएको थियो ।

आइतबार राजापाक्षे र अन्य ४४ राजनीतिज्ञले सिरिसेनाको नेतृत्वमा रहेको मध्य–वामपन्थी पार्टी श्रीलंका फ्रिडम पार्टी परित्याग गरेका हुन । उनीहरु सोही दिन श्रीलंका पोदुजना पेरेमुना(एसएलपीपी)मा प्रवेश गरेका छन् । यो पार्टी सन् २०१६ मा राजपाक्षेका कान्छो भाई बसिल राजापाक्षेले स्थापना गरेका थिए । बसिल पूर्वअर्थमन्त्री पनि हुन् ।

एसएलपीपीको स्रोतको अनुसार श्रीलंका फ्रिडम पार्टीका ८२ सांसदमध्ये ६५ जनाले नयाँ पार्टी प्रवेश गर्नेछन् । राजपाक्षेले पार्टी परित्याग गरेसँगै उहाँले श्रीलंका फ्रिडम पार्टीसँगको आफ्नो पचास वर्षे लामो नाता तोड्नुभएको छ । महिन्दा राजपाक्षेका छोरा तथा राजनीतिज्ञ नमल राजपाक्षेले सिरिसेनाले विक्रमासिंघेको मध्य–दक्षिणपन्थी युनाइटेड नेसनल पार्टीसँग मिलेर गठबन्धन सरकार चलाउँदा श्रीलंका फ्रिडम पार्टीको नीतिलाई अनुसरण नगरेको आरोप लगाउनुभयो ।

राजपाक्षेले परित्याग गरेको श्रीलंका फ्रिडम पार्टीका संस्थापकहरु मध्ये उहाँका पिता आल्विन राजपाक्षे पनि एक हुनुहुन्थ्यो । यो पार्टीको स्थापना सन् १९५१ मा भएको थियो । राजपाक्षे विगत ५ दशकदेखि उक्त पार्टीसँग जोडिनुभएको थियो । राजपाक्षे र ठूलो संख्यामा सांसदको बहिरगमनले आगामी निर्वाचनमा राष्ट्रपति सिरिसेनालाइ असर पर्ने राजनीतिक विश्लेषकहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू