नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष इतरका नेताहरुबीच पार्टी नेतृ सुजाता कोईराला निबासमा छलफल भएको छ । काठमाडौंको मण्डिखाटारस्थित सुजाता कोइरालाको निवासमा भएको भेलामा महासमिति बैठकमा कसरी एकजुट भएर प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको जनाइएको छ ।
पार्टीलाई सुदृढ बनाउन सामूहिक रुपमा अघि बढ्ने निष्कर्ष समेत बैठकले निकालेको श्रोतले जनाएको छ । विधान संशोधनको प्रक्रिया चलिरहेको बेला देउवाले विधान विपरित विजयकुमार गच्छदारलाई उपसभापति बनाएको आरोप लगाउदै पौडेल, सिटौला र सिंह पक्ष सभापति देउवासंग रुष्ट बनेका छन् ।
छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, डा रामशरण महत, डा.शेखर कोइराला, सुजाता कोइराला र अर्जुन नरसिंह के.सी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
बैठकमा सहभागी नेता केसीका अनुसार सभापतिका पछिल्ला निर्णयहरुले प्रजातान्त्रिक पद्धति समेत तोड्ने काम भएकाले त्यसबारे आगामी दिनमा छलफल गर्दै अघि बढ्न सात नेताहरु समहमत भएका छन् । यसअघि गच्छदारलाई उपसभापतिमा मनोनित गर्दा विधि र प्रकृया मिचेर गरेको भन्दै काँग्रेसका युवा नेता गगन थापाले त्यसको सशक्त प्रतिकार गर्ने घोषणा समेत गर्नुभएको थियो ।