अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४० | Colorodo: 00:55

कांग्रेस महासमिति बैठक सर्ने

बिआरटीनेपाल २०७५ कार्तिक १७ गते २०:०४ मा प्रकाशित

कांग्रेसको विधान संशोधन मस्यौदा समितिले काम नसक्दा मंसिर पहिलो साताका लागि तोकिएको महासमिति बैठक सर्ने भएको छ । सभापति शेरबहादुर देउवाले विधान संशोधनको विषय नटुंगिएको भन्दै दुई सातासम्म बैठक सार्न अनौपचारिक संवाद थालेका छन् ।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र आफूनिकट नेताहरूसँग मंसिरभित्र नयाँ मिति तोक्ने गरी बैठक सार्नेबारे छलफल गरेको नेताहरूले बताएका छन् । ‘चाडबाड र विधानको काम नसकिएका कारण महासमिति बैठक सार्नुपर्ने भयो भनेर सभापतिजीले भन्नुभएको छ’, पौडेलनिकट स्रोतले भन्यो, ‘कहिलेलाई सार्ने भन्नेबारे अबको केन्द्रीय कार्यसमितिले निर्णय लिनेछ ।’ देउवाले महासमिति बैठकको नयाँ तिथि तोक्नका लागि १९ या २० गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेका छन् ।

सहमहामन्त्री प्रकाशरण महतले पूर्वनिर्धारित समयमै महासमिति गर्न समयको दबाब परेको बताउँदै त्यसका लागि के गर्ने भन्नेबारे छलफल नभएको बताए । ‘रातारात केन्द्रीय कार्यसममिति बैठक राखेर भ्याउन सकिन्छ’, उनले भने, ‘नत्र केही समय सार्नुपर्ने हुनसक्छ, यसबारे पार्टीमा छलफल भइसकेको छैन ।’

महामन्त्री पूर्णबहादुर खडका नेतृत्वको विधान मस्यौदा समितिले अझै केन्द्रीय कार्यसमितिको आकार, पदाधिकारीको संख्या, संसदीय र केन्द्रीय कार्यसम्पादन समिति, सभापतिको अधिकारजस्ता विषय टुंगो लगाउन सकेको छैन । समितिले दसैअघि केन्द्रीय कार्यसमितिमा विधानको मस्यौदा प्रस्तुत गर्ने लक्ष्य राखे पनि तिहारसम्म विधानकै काम लम्बिएपछि महासमिति बैठक प्रभावित बनेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मस्यौदा समितिले करिब नब्बे प्रतिशत काम सम्पन्न गरिसकेको छ । ‘विधानको मस्यौदा केन्द्रीय कार्यसमितिमा प्रस्तुत भएपछि न्यूनतम चार दिन अध्ययनका लागि सदस्यलाई समय दिनुपर्छ’, उनले भने, ‘पढिसकेपछि केन्द्रीय कार्यसमितिमा सबैले बोल्ने अवसर पाउनुपर्छ । केन्द्रीय कार्यसमितिमा प्रस्तुत रायलाई समेटेर महासमितिमा लैजानुपर्छ । त्यसका लागि करिब एक साताको समय लाग्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू