अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 04:47

नेपाली कांग्रेसको चियापानः १ लाख जनालाई निमन्त्रणा

बिआरटीनेपाल २०७५ कार्तिक १५ गते १०:०३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत, तथा छठलगायत पर्वका अवसरमा शुक्रबार आयोजना गरेको चियापान कार्यक्रममा १ लाख जनालाई निमन्त्रणा गरिएको छ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसले शुक्रबार काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

विसं २०३३ मा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । कांग्रेसले यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिँदै यही कात्तिक १६ गते अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चार गृह, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका प्रमुखलगायतका विशिष्ट महानुभाव, काङ्ग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने प्रवक्ता शर्माले बताउनुभएको छ ।

हरेक वर्ष विजया दशमी या कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने गरेको कांग्रेसको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधनको १३ औं दिन नपुगेका कारण कात्तिक १६ गते सारिएको हो । नेता बाँस्तोलाका गत असोज २७ गते निधन भएको थियो । कांग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र वि.सं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गरेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू