अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५० | Colorodo: 10:05

पाँच सहरमा एकै समय नेपाली फिल्म ‘बुलबुल’ को गीत

बिआरटीनेपाल २०७५ कार्तिक १० गते १०:०२ मा प्रकाशित

अभिनेत्री स्वस्तिमा खड्काले टेम्पो ड्राइभरको भूमिकामा अभिनय गरेको फिल्म ‘बुलबुल’ले फ्ल्यास मोब शैलीमा फिल्मको पहिलो गीत सार्वजनिक गर्ने भएको छ । यो शैलीमा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न चाल्छन् । 

‘खुदाखुद्री’ बोलको गीत एकै साथ पाँच सहरमा सार्वजनिक गरिन लागेको हो । निर्माण टिमले जानकारी गराए अनुसार फिल्मको गीत यही कात्तिक १५ गते काठमाडौँको काठमाडौँ मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरिन लागेको हो । १५ गते दिनको ३ बजे एकै समयमा बजारमा छरिएर रहेको डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले जनाएका छन् ।

काठमाडौँ बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौँको काठमाडौँ मल अगाडि भने चलचित्रकी नायिका स्वस्तिमा खड्का र नायक मुकुन भुसालले पनि अरूसँगै नाच्नेछन् । बजारमा नाचेसँगै युट्युब र मिडियामार्फत एकै समय संसारभर गीत सार्वजनिक हुनेछ । 

भक्तपुरको हेलमेट डाँडामा पच्चिस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख खर्च भएको निर्माण टिमको दाबी छ ।

गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । उनले भिन्न कन्सेप्टमा खिचिएको गीत आफूले पछिल्लो समय खिचेका गीतमा उल्लेख्य रहेको बताएका थिए । ‘खुद्रा खाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र सङ्गीत कोसिस क्षेत्रीले गरेका हुन् ।

गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालको नृत्य गरेका छन् । चलचित्रका निर्देशक विनोद पौडेलले ‘बुलबुल’ले स्वस्तिमा खडाकाको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने स्वस्तिमा स्वयंले पनि यो फिल्म आफ्नो करियरकै कोशेढुंगा हुने अभिव्यक्ति दिँदै आएकी छिन् ।

फिल्ममा स्वस्तिमा खडाकाका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । फिल्म फागुन ३ मा रिलिज हुँदैछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू