अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 11:39

२० लाख पर्यटकलाई सेवा गर्न दक्ष जनशक्ति आवश्यक

बिआरटीनेपाल २०७५ कार्तिक १० गते ९:१४ मा प्रकाशित

काठमाडौँ, सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल पर्यटन वर्ष सफल पार्न दक्ष र सीपयुक्त शिक्षित होटेल व्यवस्थापनका जनशक्ति चाहिने यस क्षेत्रका विज्ञहरूले औँल्याउनु भएको छ । 

ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)को शनिवार राजधानीमा आयोजित आठौँ दीक्षान्त समारोहमा बोल्ने पर्यटन क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले पर्यटन क्षेत्रमा व्यापक रोजगारीका अवसरहरू सिर्जना हुँदै गएको भए पनि अझै दक्ष जनशक्तिको अभाव रहेको औँल्याउनु भयो ।

“नेपाल सरकारले सन् २०२० भित्र २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ, भर्खरै मात्र लोन्लीप्लानेटले काठमाडौँलाई विश्वकै घुम्नै पर्ने सहरभित्र समेटेको छ,” अन्तर्राष्ट्रिय पर्यटन शिक्षाविद् डा. बर्न भान वाल्विकले भन्नुभयो, “हिल्टन ग्रुपले विश्वभरि नै आफ्ना नयाँ होटेलहरू खोल्दैछ, हिल्टनजस्ता अरू थुप्रै पाँचतारे होटेलहरू नेपालमा पनि खुल्नेछन्, त्यतिखेर यहाँ नै पर्याप्त दक्ष जनशक्तिको माग हुनेछ ।”

डा. वाल्विकले आउँदो १० वर्षभित्र विश्वभरि लाखौँ रोजगारीका अवसर सिर्जना हुने सम्भावना औँल्याउँदै त्यो अवसर नेपालभित्रै पनि सिर्जना हुने दाबी गर्नुभयो । 

यसै गरी, स्वीजरल्यान्डको स्विस होटेल एसोसिएसन होटलरीस्वीसका सञ्चार तथा बजारीकरण प्रमुख प्याट्रिक स्कोनबर्गले विश्वभरि नै पर्यटनसँग सम्बन्धित दक्ष जनशक्तिको माग बढ्दै गएको परिप्रेक्षमा यहाँ उत्पादित दक्ष जनशक्तिले स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै अवसर पाउने बताए ।

नेपालका लागि स्वीजरल्यान्डकी राजदूत एजिलावेथ भान कप्लरले नेपालको पर्यटन र समग्र विकासका लागि स्वीजरल्यान्डले ६०को दशकदेखि नै सहयोग गर्दै आएको चर्चा गर्दै गेट कलेजले नेपालमै स्विस सम्बन्धनमा अन्तर्राष्ट्रिय स्तरको पर्यटन शिक्षा प्रदान गर्दै आएकोमा सह्राहना गर्नु भयो ।
राजदूत कप्लरले सबै होटेल व्यस्थापनका विद्यार्थीहरूले पाँचतारे वा पर्यटन स्तरको होटलमात्र होइन, होमस्टेजस्ता पर्यटन सेवा विस्तार गरेर स्वरोजगार पाउने बताउनु भयो ।

कार्यक्रममा गेट कलेजका संस्थापक÷प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले गेट कलेजले विगत ११ वर्षदेखि विश्व पर्यटन बजारमा प्रतिष्पर्धात्मक रूपमा आफूलाई उभ्याउन सक्ने जनशक्ति उत्पादनमा जोड दिँदै आएको प्रस्ट पार्नुभयो ।

सो अवसरमा एकेडेमिक काउन्सिल प्रमुख डा. दल जीत राव र गेट सञ्चालक समितिका अध्यक्ष चिजकुमार श्रेष्ठले नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटेल व्यवस्थापन शिक्षा प्रदान गर्नका लागि कलेजले विशिष्ट, अभ्यासात्मक शैक्षिक प्रणाली अवलम्बन गर्दै आएको जानकारी दिनु भयो ।
सन् २०१८ को दीक्षान्त समारोहबाट १५ औँ र १६ औँ ब्याचका कुल ९७ जना विद्यार्थीहरू दीक्षित भएका गेट कलेजले जानकारी दिएको छ । उक्त कार्यक्रममा १६ औँ ब्याचबाट सर्वोत्कृष्ट नतिजा हासिल गर्ने राज मिलन पौडेलसहित उत्कृष्ट अनुसन्धानका पौडेलसहित १५ औँ ब्याच स्वीटी श्रेष्ठलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

गेट कलेजमा हालसम्म नेपालभित्रका सबै जिल्लाबाहेक १९ मुलुकबाट करिब ४ सय विद्यार्थीहरू होटेल व्यवस्थापन शिक्षाको स्नातक तहमा दीक्षित भइसकेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू