अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 08:37

भन्सार पुनः स्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

बिआरटीनेपाल २०७५ कार्तिक ३ गते १०:२५ मा प्रकाशित

दार्चुला, हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष मंगलसिह ठगुन्नाको ।

विगतमा दार्चुलाका व्यापारीले तिब्बतबाट सिधै सामान आयात गरी सदरमुकाम खलङगामा व्यापार गर्दै आएका थिए । तर पछिल्लो समय तिब्बतको व्यापार शून्य छ । तिब्बतबाट आउने सामान ल्याउनको लागि नेपालतिर न बाटो छ न द्वन्द्वकालमा विस्थापित भएका भन्सार कार्यालय नै पुनः स्थापना हुनसकेको छ । सामान ल्याउने बाटो पुरै अवरुद्ध छ । पाँच छ वर्षयता नेपाली व्यापारीले तिब्बतबाट सामान ल्याउन पाएका छैनन्, व्यापारी गणेश बडुले भन्नुभयो । केही वर्ष भारतीय बाटो भएर सामान ढुवानी गरियो । तर भन्सार निकै महँगो हुनथालेपछि तिब्बती सामान ल्याउन छोडिएको छ । भारतीय व्यापारीले पनि अहिले सडक विस्तारका कारण सामान चीनबाट आयात गर्न सकेका छैनन् ।  सुरक्षाको कारण देखाउँदै द्वन्द्वकालमा विस्थापित भएका दार्चुलाका त्रिदेशीय सीमामा रहेको सिता पुल तिंकर छोटी भन्सार, दत्तु र जौलजिवी भन्सार हालसम्म पुनः स्थापना गरिएको छैन ।

त्रिदेशीय सीमा तिंकरसँग भारतीय बजार र चीनको स्वशासित क्षेत्र तिब्बत जोडिएको छ । यो नाकाबाट विगतमा राम्रै व्यापारिक सामान आयात–निर्यात हुने गरेको थियो, उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठगुन्नाले भन्नुभयो । हामी तिब्बतबाट जुत्ता, ज्याकेट, कम्बल, भेडा च्याङ्ग्रा आयात गर्ने गरेका थियौ । तर पछिल्लो समय नेपालतिरको बाटो नै अवरुद्ध भएपछि सबै व्यापार ठप्प छ ।

दार्चुलाको यार्सागुम्बा सिधै तिब्बत चीन निर्यात हुने गरेको थियो । तर भन्सार नहुँदा अहिले नेपालले करौडाँै राजस्व गुमाउनु परेको छ । हामीले राजस्व तिर्ने चाहना हुँदाहुँदै पनि सरकारले भन्सार स्थापना र सडक निर्माणमा ध्यान नदिएको उहाँको भनाइ छ । तिब्बतबाट आयात–निर्यात हुने वस्तुको भन्सार उठाउन नसक्दा बर्सेनि राज्यले राजस्व गुमाउनु परेको छ । तस्करको मुख्य मार्गको रूपमा रहेको सो क्षेत्रमा राज्यको उपस्थिति कमजोर हुँदा राजस्व सङ्कलनमा न्यून हुँदै गएको छ । भन्सार पुनः स्थापना हुने बित्तिकै राज्यले सुरक्षा उपस्थित गराउन सक्छ तर यो कार्यमा राज्यले चासो नलिएको व्यापारी बडु बताउनुहुन्छ ।

अहिले तिंकरमा राज्यको नियमित उपस्थितिको रूपमा नेपाल प्रहरी मात्रै छ । सीमित स्रोत साधनका बिच नेपाल प्रहरी बसे पनि भन्सार राजस्व सङ्कलन गर्न सक्ने अवस्थामा छैन । व्यास क्षेत्रमा बसोबास गर्ने व्यासीहरुको लागि अधिकांश सामान अहिले पनि तिब्बतबाटै आयात हुने गरेको छ । खलङ्गामा केही व्यापारीले सोही नाका भएर अवैधरुपमा सामान भित्र्याएर कारोबार गर्ने गरेका छन् । स्थानीयको उपस्थिति नभएको बेला तस्करको लागि तिब्बत सामान ढुवानीमा सजिलो नाका यही हो ।

उक्त नाका भएर आयात निर्यात गरिने केही वैध वस्तुको छोटी भन्सार कार्यालय खलङ्गाबाटै भन्सार चेक पास गर्नुपर्ने बाध्यता रहेको छोटी भन्सार कार्यालयले जनाएको छ । नेपाल–भारत सीमा नाका सितापुलमा छोटी भन्सार नहुँदा प्रहरीले मात्रै चेक जाँच गर्नुपर्ने बाध्यता छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू