अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 01:50

गुर्जा हिमआँधीमा ज्यान गुमाउनेको शव काठमाण्डौंमा, दूतावास र आफन्तको जिम्मा लगाउने तयारी

बिआरटीनेपाल २०७५ असोज २८ गते ९:२३ मा प्रकाशित

म्याग्दीको गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर ज्यान गुमाएकाको शव आइतबार संकलन गरी काठमाडौ लगिएको छ । सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोचबाट निकालेका शव हेलिकोप्टरमार्फत् पोखरा हुँदै काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । धवलागिरी गाउँपालिका १ गुर्जाका २९ वर्षीय नेत्रबहादुर छन्त्यालको शव हेलिकोप्टरबाट बेनी ल्याएर परीक्षण गरी पुन हेलिकोप्टरबाटै गुर्जा र्पुयाएर आफन्तलाई जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिनुभयो ।

बुढाका अनुसार संखुवासभाका ३ र दक्षिण कोरियाका ५ जनाको शव पोखरामा संकलन गरी परीक्षणका लागि काठमाडौं लगिएको छ । नेपालीको शव परीक्षणपछि आफन्त र विदेशीको सम्बन्धित देशको राजदूतावासको जिम्मा लगाउने तयारी गरिएको छ ।

असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिमआँधीमा परेर दक्षिण कोरीयाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो जियोङको मृत्यु भएको थियो । हिमआँधीमा परी धवलागिरी गाउँपालिका १ गुर्जाका २९ वर्षीय नेत्रबहादुर छन्त्याल, संखुवासभाको हटियाका ३९ वर्षीय छिरीङ भोटे, संखुवासभाकै भोटेखोला गाउँपालिका ३ का २१ वर्षीय लाक्पा साङबु भोटे र सोलुखुम्बु घर बताउने फुर्बा भोटेको समेत मृत्यु भएको थियो ।

जिल्ला सदरमुकाम बेनीदेखि मुनासम्म ४ घण्टा गाडी र त्यहाँबाट ९ घण्टा पैदल हिँडेपछि पुगिने गुर्जादेखि थप ५ घण्टा हिँडेपछि गुर्जा हिमालको आधार शिविर पुग्न सकिन्छ । भौगोलिक विकटताका कारण हिमआँधी आएको ३ दिनपछि हिमाल आरोही दुर्घटनामा परेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू