काठमाडौँ, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अन्तराष्ट्रियस्तरमा नेपालको सम्बन्ध बढिरहेको बताउनुभएको छ ।
प्रदेश नं ५ पत्रकार समाज, काठमाडौँले यहाँ आयोजना गरेको दसैँ, तिहार, छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उहाँले भर्खरै अमेरिकामा सम्पन्न भएको संयुक्त राष्ट्र सङ्घको महासभामा अन्तर्राष्ट्रियस्तरमा नेपालबारे चासो राख्दा नेपालको सम्बन्ध बढेको बताउनुभयो ।
“संयुक्त राष्ट्र सङ्घको महासभामा पनि सहभागी विदेशी राष्ट्र प्रमुख र कूटनीतिज्ञले आफै हामीसँग समय मागेर भेटघाट गर्नुभयो,” उहाँले भन्नुभयो,”जसले गर्दा नेपालको सम्बन्ध अन्तर्राष्ट्रियस्तरमा बढिरहेको छ ।”
उहाँले चीन र भारतसँगको सम्बन्धलाई सरकारले थप राम्रो बनाएको भन्दै मित्रराष्ट्रसँग वर्षौँदेखिको थाँती रहेका मुद्दा पनि सल्टाउन थालेको जानकारी गराउनुभयो ।
परराष्ट्र मन्त्री ज्ञवालीले चीनसँग उत्तर–दक्षिण रेलमार्ग र भारतसँग कृषि, जल क्षेत्रमा सहकार्य गरेर मुलुकलाई विकाससँग जोड्न थालेको बताउनुभयो । उहाँले सन् २०३० सम्म मुलुकको आर्थिक विकासमा समृद्धि ल्याई मध्य आय भएको देश बनाउन सरकार दृढ रहेको बताउनुभयो ।
उहाँले सरकारले ८ महिना संविधान कार्यन्वयनमा खर्चेको भन्दै अब भ्रष्टाचारको नियन्त्रण गदै सुशासनको प्रत्याभूति हुने किसिमले काम गर्ने बताउनुभयो । परराष्ट्र मन्त्री ज्ञवालीले पछिल्लो समय समाचारको विश्वसनीयता माथि प्रश्न उठिरहेको भन्दै प्रेस स्वतन्त्रतालाई नियन्त्रण नभई मर्यादित बनाउनका लागि नयाँ कानुन ल्याइएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गरिबी र बेरोजगार अन्त्य नगरेसम्म मुलुक समृद्धिमा नजाने बताउनुभयो । उहाँले नेपालमा भएका प्राकृतिक स्रोत र युवा जनशक्तिलाई परिचालन गरेर गरिबी र बेरोजगार अन्त्य गर्न सकिने उल्लेख गर्नुभयो । समाजका संयोजक सङ्गम महतको सभापतित्वमा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट, वरिष्ठ पत्रकार भुवन भट्ट लगायतको सहभागिता रहेको थियो ।