अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 05:54

घर छैन, कहाँ मान्ने दसैँ ?

बिआरटीनेपाल २०७५ असोज २६ गते ७:१६ मा प्रकाशित

बागलुङ, यसपालि बसिमाया परियारलाई दसैँ दशा बनेर आएको छ । गएको वर्षायाममा घर बास गुमाउनुभएकी ५२ वर्षीया परियारलाई एउटै कुराको पिरलो छ, दसैँ कहाँ मान्ने रु दुःखी हुँदै उहाँले भन्नुभयो, “छोरी, ज्वाइँ आउँछन् कहाँ राख्ने, के खुवाउने रु” चाडबाडको मुखमा यस्तो पीडा भोग्नेमा उहाँ मात्र एक्लो हुनुहुन्न ।

काठे खोला गाउँपालिका–५ बिहुँ काउलेका १४ परिवारको व्यथा समान छ । गत असार ११ गतेको भीषण वर्षाले गाउँ भासिएपछि काउलेका बासिन्दा विस्थापित बनेका हुन् । १३्र दलित र एक जनजाति परिवारका ४६ सदस्य अहिले छिमेकीको आश्रयमा छन् । इन्द्रबहादुर परियारले यसपालि दसैँमा आफ्नो आँगन, दैलो टेक्न पाउने हुने छैन ।

दुबईबाट दसैँमा घर आउन लाग्नुभएका परियारकी श्रीमती सुमित्रा र तीन छोरा आफन्तको घरमा बस्छन् । “घर गोठ सबै भत्कियो, गरेर खाने बारी पनि चिराचिरा छ” सुमित्राले दुखेसो पोख्नुभयो । १६ महिने काखको छोरा अमितसँगै तीन छोरा साथमा लिएर उहाँ अहिले विस्थापनका कष्टपूर्ण दिन काटी रहनुभएको छ ।

विस्थापित बनेकामध्ये अधिकांश परिवार कोठा भाडामा लिएर दुःखजिलो गरी बसेका छन् । दैनिक मजदुरी गरेर जीविका चलाउने परिवार थातथलो नै गुमेपछि बिचल्लीमा परेका हुन् । घर गोठ, खेती गर्नलाई भएको सानो जमिन पनि खण्डमा परिणत भएको छ । ७२ वर्षीय डिलबहादुर परियारले खाइन खाई रु दुई लाख खर्चेर बनाएको घर गुमाउनुपरेको बताउनुभयो ।

सत्तरी वर्षीया श्रीमती बिजुला परियारको साथमा उहाँ पनि छिमेकीको घरमा भाडामा बस्नुहुन्छ । “महिनाको रु एक हजारमा बसेका छौँ”, उहाँले भन्नुभयो, “सरसामान, लत्ताकपडा, खाने, सुत्ने सबै एउटै कोठामा छ ।” महिनौँ बित्दासमेत विस्थापित परिवारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन् । पुनःस्थापनाको लागि पहल अघि बढे पनि ठोस काम हुन सकेको छैन ।

घरवाससँगै खेती कमाउने जग्गा पनि गुमेपछि विस्थापित परिवार चरम समस्यामा परेका हुन् । “बिहान, बेलुकाको छाक टार्नै धौ–धौको अवस्था छ” विस्थापित हीराकुमारी पुनले भन्नुभयो, “राहत र पुनःस्थापनाको लागि आश्वासन मात्र आउँछ ।” सरकारी निकायका पदाधिकारी र स्थानीय जनप्रतिनिधिले नआत्तिनुस् हामी छौँ भनेर ढाडस मात्रै दिने गरेको विस्थापितको गुनासो छ ।

“आशैआशमा यत्रो महिना बित्यो, सबै आउँदा, भेट्दा केही पाउने भइयो भन्ने लाग्छ” विस्थापित बसिमाया परियारले भन्नुभयो । वडाध्यक्ष शिव कँडेलले प्रारम्भिक चरणको राहत बाँडे पनि क्षतिपूर्ति र पुनःस्थापनामा ढिलाइ भएको स्वीकार गर्नुभयो । विस्थापित परिवारको लागि बस्ती बसाल्न सुरक्षित ठाउँमा जग्गा खोज्ने प्रक्रिया अघि बढेको उहाँको भनाइ छ ।

सोही वडाको सिर्पाली र लाम राती भन्ने ठाउँमा जग्गा हेर्ने काम भइरहेको जनाइएको छ । चौध घर बनाउन करिब रु २५ लाख मूल्य बराबरको जग्गा व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । जग्गा खरिदकै लागि बिहुँकोट समाज जापानले आर्थिक सङ्कलन अभियान थालेको छ । उक्त अभियानबाट हालसम्म रु चार लाख उठेको जनाइएको छ ।

अन्य क्षेत्रबाट पनि सहयोग जुट्ने क्रम सुरु भएको वडाध्यक्ष कँडेलले बताउनुभयो । गुल्मी समाज जापानबाट पनि रु एक लाख २० हजार राहत जुटेको छ । उक्त रकम दसैँ खर्चस्वरुप विस्थापित परिवारलाई सोमबार वितरण गरिएको थियो । तत्कालै अस्थायी टहरा बनाएर विस्थापितलाई राख्ने गाउँपालिकाको प्रतिबद्धता भने पूरा हुने सकेको छैन ।

दीर्घकालीन पुनःस्थापनाको लागि समय लाग्ने हुँदा अस्थायी संरचना बनाउने योजना गाउँपालिकाको थियो । गाउँपालिका अध्यक्ष अम्बर थापाले जग्गा व्यवस्थापन हुन नसक्दा समस्या भएको बताउनुभयो । “सार्वजनिक जग्गामा राख्दा समस्या निम्तिने हुँदा सकभर निजी जग्गा खोज्नुस् भनेका छौँ” उहाँले भन्नुभयो, “जग्गा भयो भने घर बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्छ ।”

जग्गा भएको खण्डमा जनता आवास कार्यक्रमबाट पनि घर निर्माण गर्न सकिने बताइएको छ । मध्य पहाडी पुष्पलाल लोक मार्ग छेउ काउलेको जमिन धसिदा लोक मार्ग पनि जोखिममा छ ।

भू–गर्भविद्को टोलीले पनि स्थलगत अवलोकन गरी काउलेमा बस्ती राख्न नमिल्ने निष्कर्ष निकालेको थियो । जमिन भासिन थालेपछि पहिरोको डरले गाउँले बेलैमा सुरक्षित ठाउँतिर लागेका कारण त्यति बेला कुनै मानवीय क्षति भने हुन पाएन । (रासस) 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू