अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३९ | Colorodo: 09:54

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सञ्चालनमा, प्रशासन र कर्मचारीवीच २ वुँदे सहमति

बिआरटीनेपाल २०७५ असोज १९ गते ९:३९ मा प्रकाशित

कर्मचारी आन्दोलनका कारण विगत नौ दिनदेखि बन्द रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) शुक्रबार देखि सञ्चालनमा आएको छ । आन्दोलनरत् कर्मचारी र प्रशासनबीच दुई बुँदे सहमति भएपछि कर्मचारीहरु काममा फर्किएका हुन् ।

आन्दोलनरत कर्मचारी र प्रशासनबीच शुक्रबार भएको छलफलपछि सहमति जुटेको हो । सहमति अनुसार अस्थायी कर्मचारी स्थायी गर्न प्रक्रिया शुरु गर्ने, २०६४ का कर्मचारीको स्तरवृद्धि गर्ने सहमति भएको आन्दोलन समितिका अध्यक्ष डाक्टर ढाकाकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो बुँदामा प्रतिष्ठानतर्फ दोस्रो सभा अगाडि कार्यरत सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी स्थायी गर्न आगामी सभा बैठकमा एजेण्डा प्रस्तुत गरी स्वीकृति गराई वा अनुमति लिई एक हप्ताभित्रमा एक पटकका लागि सीमित आन्तरिक विशेष प्रतियोगिता मार्फत् प्रक्रिया थालनी गर्ने सहमति गरिएको छ ।

साउन १ गतेदेखि लागू हुने गरी समायोजन तथा एक पटकका लागि असोज मसान्तभित्रमा एक तह स्तरवृद्धि गर्ने सहमति भएको छ । नौ दिनदेखि आन्दोलनका कारण उपचारका लागि आउने बिरामी मर्कामा परेका थिए ।

कर्मचारीको आन्दोलनका कारण आकस्मिक र सघन उपचार कक्षबाहेकका सबै सेवा ठप्प रहेको थियो । अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने साथै स्थायी कर्मचारीको स्तरवृद्धिको माग राखेर अस्पतालमा कार्यरत कर्मचारी आन्दोलित बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू