अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४६ | Colorodo: 11:01

नेकपा गण्डकी प्रदेश मातहतका जिल्ला पार्टी संचालनका लागि संयन्त्र गठन

बिआरटीनेपाल २०७५ असोज १८ गते ९:४७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश कमिटीले मातहतका जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा पार्टीका काम अगाडि बढाउन पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले मातहतका विभिन्न तहमा पार्टीका गतिविधि अगाडि बढाउन यस्तो निर्णय लिएको हो । बैठकले गरेका निर्णयबारे विहीबार पोखरामा पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको हो ।

उक्त संयन्त्रमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(एमाले)का तर्फबाट कमिटिका इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालीन माओवादी केन्द्रबाट इञ्चार्ज, सहइञ्चार्ज र संयोजक सहित ५ गरी १० जना रहने व्यवस्था मिलाइएको छ ।
जिल्ला संयन्त्रले महानगरपालिकामा १०, नगरपालिकामा ८ र गाउँपालिकामा ६ सदस्यीय पार्टी संयन्त्र गठन गर्ने बताइएको छ । बैठकले पार्टीका विधान, नियमावली र पार्टीका माथिल्ला कमिटीका निर्देशन समेतलाई आधार मानी पार्टी एकीकरण सम्बन्धमा समेत प्रदेश कमिटी समक्ष सुझाव पेश गर्न निर्देशन दिएको छ ।

गण्डकी प्रदेशमा रहेका केन्द्रीय सदस्यहरुको भेला असोज १९ गते बस्ने, जिल्ला सयंन्त्रको बैठक असोज २७ गतेभित्र सम्पन्न गर्ने निर्णय समेत बैठकले गरेको छ । कात्तिकको दोश्रो अप्ताभित्र प्रदेश र जिल्ला तहमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

पार्टीको मूल मर्म र भावनालाई आम जनसमुदाय समक्ष पुर्याउन पनि गण्डकी प्रदेश कमिटीले आग्रह गरेको छ । पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका मुख्य मन्त्री एवं नेकपाका गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुव्बा गुरुङ, सहइञ्चार्ज खगराज अधिकारी, सचिव गोविन्दबहादुर नेपाली, नेकपाका अन्य नेताहरु, सांसद लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया