रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दिने औपचारिक भारत भ्रमण विहीवारदेखि शुरु भएको छ ।रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालीरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
राष्ट्रपतिको भारत भ्रमणअघि रुसले जारी गरेको विज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको अध्याधुनिक ‘एस–४००’ हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुने जनाईएको थियो ।
रुसी प्रतिरक्षा प्रणाली खरिद गर्ने मुलुकहरुविरुद्ध अमेरिकाले प्रतिबन्धहरु लगाउने घोषणा गरेपनि यो हस्ताक्षर हुन लागेको छ । भ्रमणका क्रममा राष्ट्रपति पुटिन १९औं भारत–रुस द्विपक्षीय वार्षिक सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि रहेको छ । यसअघि, वासिङ्टन र नयाँदिल्लीले सन् २०१९ मा संयुक्त सैन्य अभ्यास गर्ने गत महिनामात्र घोषणा गरेका थिए । दुवै देशबीच संवेदनशील सैन्य सूचना आदान–प्रदान गर्ने पनि सहमति समेत भएको थियो ।
तर, रुस नै भारतको मुख्य सैनिक साझेदार रहिआएको छ र पछिल्लो सम्झौता मस्कोका लागि निकै महत्वपूर्ण मानिएको छ । पुटिन र मोदीबीच यस वाहेकका सैन्य सामग्रीको आपूर्तिका बारेमा पनि छलफल हुने बताइएको छ । भारत र रुसबीच सैनिक हेलिकोप्टर उत्पादनका बारेमा यसअघि नै सम्झौता भइसकेको छ । जस अन्र्तगत ६० ओटा रुसमा निर्माण गरिने र बाँकी भारतमा उत्पादन गरिनेछ ।