अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७ | Colorodo: 06:32

सुन आयातको कोटा २५ किलो पुर्याउन सिफारिश

बिआरटीनेपाल २०७५ असोज १६ गते २०:२२ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको दैनिक कोटा बढाउन नेपाल राष्ट्र बैंकलाई सिफारिश गरेको छ । अहिले दैनिक १५ केजी सुन आयातको कोटा तोकिएकोमा मन्त्रालयले १० केजी बढाउन राष्ट्र बैंकलाई सिफारिश गरेको हो ।

केन्द्रीय बैंकले सन् २०१० मा भुक्तानी सन्तुलनमा समस्या आएपछि सन्२०११ देखि सुन आयातमा कोटा प्रणाली लागू गर्नुका साथै वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो ।
वाणिज्य बैंकहरुले हरेक महिना पालैपालो सुन आयात गर्दै आएका थिए । तर, केही समययता अनौपचारिक र अवैध रुपमा तस्करीको सुन भित्रदाँ बैंकहरुको सुन बिक्री हुन छाडेको गुनासो बैंकरहरुले गर्दै आएका छन् ।

सुनका गरगहना व्यापारीहरुले भने गरगहनाको माग उच्च रहेको, सरकारले निर्यातका लागि पनि खुला गरेको भएपनि सुनको उपलब्धता माग अनुसार नरहेको भन्दै आयातको कोटा वृद्धिका लागि लविङ गरेका थिए । सुनको तस्करी बढेका बेला बैंकको सुन माग नहुने र नियन्त्रण भएको बेला बैंकको सुन उठ्ने गरेको बैंकरहरुको अनुभव छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले चाडपर्व तथा विवाहको सिजनलाई दृष्टिगत गरी सुनको कोटा २५ केजी सम्म पुर्याउन केन्द्रीय बैंकलाई सिफारिश गरिएको पुष्टी गरे । अहिले पनि शोधनान्तर स्थिति कमजोर रहेकाले धेरै सुनको आयात बढाउने पक्षमा सरकार नरहेको उनको भनाई थियो ।

नेपाल राष्ट्र बैंक, विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले सरकारले कोटा बढाउन गरेको सिफारिशलाई केन्द्रीय बैंकको आगामी सञ्चालक समितिको बैठकमा पेश गरिने र सञ्चालक समितिको निर्णय अनुसार यसलाई कार्यान्वयनमा ल्याइने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू