अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 06:05

बालाजु–तारकेश्वर क्षेत्रलाई आकर्षक पर्यटकीय हब बनाउने लक्ष्यमा साथ दिन आग्रह

बिआरटीनेपाल २०७५ असोज १३ गते १४:०९ मा प्रकाशित

काठमाडौँ, प्रतिनिधि सभाका सदस्य एवं नेकपा पार्टीका सांसद रामवीर मानन्धरले बालाजु–तारकेश्वर क्षेत्रलाई काठमाडौँ उपत्यकाकै आकर्षक पर्यटकीय हब बनाउने सरकारको लक्ष्यमासाथ दिन सम्बन्धित निकाय र स्थानीयवासीलाई आग्रह गरेका छन् । शनिवार सम्पन्न तारकेश्वर नगरपालिका–५ स्थित हरियाली समाजको दोस्रो वार्षिक साधारण सभामा सांसद मानन्धरले यस्तो आग्रह गरेका हुन ।
यहाँका प्राकृतिक विविधता, ऐतिहासिक धरोहर र स्थानीय उत्पादनको उचित उपयोग एवं प्रवद्र्धनगरि उपत्यकाकै आकर्षक नमुना पर्यटकीय हब बनाउने कार्यमा आफूहरू निरन्तर लागिपरेको बताउँदै उनले अहिलेसम्म त्यसै खेर गइरहेका बस्तु एवं प्राकृतिक, ऐतिहासिक धरोहर र धार्मिक सम्पदाको उचित उपयोगको माध्यमबाट सजिलै आन्तरिक एवं विदेशी पर्यटक भित्राउन सकिने दाबी गरे । अहिले यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणकालागि तारकेश्वर नगरपालिकाले स्थानीयवासीको सहकार्यमा केही काम गरेको जानकारी गराउँदै उनले यस नगरपालिका क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यस्थलहरुको प्रवर्द्धनसँगै नयाँ ठाउँको पूर्वाधार विकासलाई अघि बढाएर पर्यटक आकर्षित गर्न सकिने बताए । अहिलेसम्म यहाँका स्थानीयवासीको सक्रियतामा व्यवस्थित बस्ती विकास र सडक स्तरउन्नतीका काम पनि बिस्तारै अघि बढेको जानकारी गराउँदै उनले अब स्थानीय सरकारले जन अपेक्षा अनुरूप अघि बढ्न सक्यो भने मात्र संवृद्ध मुलुक र सुखी नेपालीको लक्ष्यमा सजिलै पुग्न सकिने बताए । जसकालागि अझै सरकारले अपेक्षा अनुरूप काम गर्न नसकेको भन्दै उनले २०७२ सालमा गएको विनाशकारी महाभूकम्पको चपेटामा परेका भूकम्प पीडितले तीन वर्षसम्म पनि घर बनाउने पैसा नपाएकोमा आफूलाई निकै दुःख लागेको बताए । उनले आवश्यक कानुनको अभावले अहिलेसम्म भूकम्प पीडितमाथि यस्तो अन्याय भएको बताए ।

३ नं. प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठलेपनि अहिले बालाजु–तारकेश्वर क्षेत्रलाई राजधानीकै पर्यटकीय आकर्षणको हब बनाउन यस प्रदेश सरकारले पूर्वाधार विस्तार एवं सम्भावित पर्यटकीय गन्तव्यस्थलको खोजी र डिपिआर बनाउनकालागि आवश्यक बजेट विनियोजन गरेको बताए । उनले तारकेश्वर नगरपालिकाको ४÷५ वडामा देखिएको खाने पानी व्यवस्थापनको समस्यालाई लिएर तीन नं. प्रदेश सरकारले ५० लाख रुपैयाँको बजेट विनियोजन गरेको जानकारी गराए । उनले अब यस क्षेत्रलाई खाने पानी समस्या मुक्त क्षेत्र बनाइने दाबी गरे । यसै गरी, उनले ३ नं. प्रदेशमा निर्माण कम्पनीहरूसँग सम्झौता भएका सबै सडक निर्माण कार्य समयमा नै सम्पन्न गर्नकालागि पनि यस प्रदेश सरकारले निर्देशक दिएको जानकारी गराए ।

अब थालिएका सडक निर्माणका काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई नछाड्ने नीति प्रदेश सरकारले लिएको बताउँदै प्रदेश सभा सदस्य श्रेष्ठले भने, ‘ आफ्नो घर टोल नजिक थालिएका विकास निर्माणका गतिविधिमा स्थानीयवासीले पनि चासो राख्नुपर्छ ’। विगतका वर्षहरूमा जस्तो उपभोक्ता समितिहरूबाट अब खानेपानीको नयाँ लाइन बिस्तार हुने छैन भन्दै उनले अब खानेपाली प्रवर्द्धन विकास बोर्डबाट मात्र खाने पानी व्यवस्थापन गरिने बताए । उनले ३ नं. प्रदेश सरकारले अब यस प्रदेशभित्र खाने पानी प्रवर्द्धन विकास बोर्डबाटमात्र खाने पानी विस्तार एवं व्यवस्थापन गर्ने नीति लिएको बताए ।

तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले अहिलेसम्म यस क्षेत्रमा भएका विविध पर्यटकीय पूर्वाधारका गतिविधिहरूबारे जानकारी गराउँदै टेन्डरबाट भएका निर्माणका काम सन्तोषजनक नभएको बताए । उनले अहिलेसम्म स्थानीय उपभोक्ता समितिबाट ५०÷५० प्रतिशत लगानीमा भएका विकासका काम पनि अझै अपेक्षाकृत रूपमा सम्पन्न भएको भन्दै उनले स्थानीय टोल समितिलाई नै जिम्मेवार बनाएर काम गर्न चाहेको बताए । हरियाली समाजले अहिलेसम्म आफ्नो क्षेत्र विकासमा गरेको कामको प्रशंसा गर्दै उनले अब यस नगरपालिकाले स्थानीय टोल सुधार समितिलाई नै थप जिम्मेवार बनाएर अघि बढ्ने नीति लिएको बताए । तानपा–५ का वडा अध्यक्ष वासुप्रसाद गौतमले अहिलेसम्म यस क्षेत्रमा भएका विकास निर्माणका गतिविधिहरूबारे जानकारी गराएका थिए ।

हरियाली समाजका अध्यक्ष रविन्द्र पण्डित, उपाध्यक्ष प्रल्लाद खड्का र सचिव कृष्ण खनालले सधैँ सरकारको आशा गर्ने मात्र होइन अब आफ्नो बस्ती बनाउन स्यंम आफै जुट्नुपर्छ भन्ने सकारात्मक सन्देश फैलाउन आफूहरूले यस संस्था मार्फत यहाँका स्थानीयवासीको सामूहिक प्रयासमा गरेको नमुना सहरको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । उनीहरूले अझै तारकेश्वर नगरपालिकामा नभएका अन्य विकास निर्माणका कार्यमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए । सोही कार्यक्रममा समाजले तानपाका पूर्व कार्यकारी प्रमुख अग्निप्रसाद अधिकारी लगायत संस्थाको विविध गतिविधिमा सहयोग गर्नेहरूलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू