इङ्लिस फुटबल लिग (ईएफएल) कप फुटबलमा म्यान्चेस्टर सिटी विजयी हुँदा म्यान्चेस्टर युनाईटेड पराजित भएको छ । गएराति भएको खेलमा प्रिमियर क्लव म्यान्चेस्टर सिटीले तेस्रो श्रेणीको अक्सफोर्ड युनाईटेडलाई ३–० गोल अन्तरले पराजित गरेको छ । खेलमा म्यान सिटीलाई विजयी गराउन ग्याब्रिएल जिसस, रियाद माहारेज र फिल फोडेनले एक–एक गोल गरेका थिए ।
जितसँगै म्यान्चेस्टर सिटी ईएफएल कप अर्थात् काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । सोही प्रतियोगिताको अर्को खेलमा म्यान्चेस्टर युनाईटेड भने पराजित भयो । म्यान्चेस्टर युनाईटेडलाई च्याम्पियनसिप क्लव डर्बी काउण्टीले सडन डेथमा हराएको हो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म २–२ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमा डर्बी विजयी भएको हो ।
ईएफएल कप फुटबलकै अन्य खेलहरुमा प्रिमियर क्लवहरु लेष्टर सिटी, बर्नमाउथ, फुल्हम र क्रिष्टल प्यालेस विजयी भएका छन् ।