अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 23:20

प्रमाणपत्र धितो राखेर ऋण पाईने कार्यक्रम लागु, ५ प्रतिशत व्याज सरकारले तिरिदिने

बिआरटीनेपाल २०७५ असोज ७ गते ९:५९ मा प्रकाशित

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने व्यवस्था आइतबार देखि लागू भएको छ । अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधी ल्याएसँगै आजैदेखि उक्त कार्यक्रम लागू भएको जनाईएको छ । मन्त्रालयले आज सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने जानकारी गराएको हो । मन्त्रालयले तयार पारेको कार्यविधी अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर दुई प्रकारको ऋण लिन पाइन्छ ।

नयाँ कार्यविधी अनुसार शिक्षित यूवा स्वरोजगार कर्जा अन्तर्गत शिक्षित यूवाले प्रमाणपत्र र व्यवसाय धितोमा राखेर ऋण लिनसक्ने छन् । कम्तिमा स्नातक पास गरेकाले ऋणका लागि आवेदन सक्ने जनाईएको छ । ऋण लिनेको उमेर ४० वर्षभन्दा कम हुनुपर्छ । शिक्षित यूवा स्वरोजगार ऋण लिनको लागि विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए नेपाली विश्वविद्यालयबाट समकक्षता गराउनु पर्नेछ । ऋण लिनेले घरेलु तथा साना उद्योग कार्यलय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत संस्थामध्ये एकबाट कम्तिमा सात दिने उद्यम व्यवसाय गर्ने तालिम लिएको हुनु पर्नेछ। सोको प्रमाणपत्र पनि पेस गर्नुपर्छ ।

यसैगरी, माध्यामिक वा सो सरह उत्तिर्ण भएका र २५ वर्ष नकटेका यूवाले यो कर्जा लिनको लागि आवेदन दिनसक्ने छन् । उच्च शिक्षा अध्ययनका लागि यस्तो कर्जा लिन पाउनेछन् । यस्तो कर्जा लिने विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी हुनु पर्नेछ । उनीहरूले कलेज अध्ययन गरिरहेको हुनु पर्नेछ । यसरी कर्जाको लागि योग्यहरूले बैंक तथा वित्तीय संस्थामा आवेदन दिनु पर्नेछ । आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल, सीप विकास तालिमको प्रमाणपत्र चाहिन्छ ।
यसरी आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनइसक्नुपर्छ । यदि दिन नमिल्ने अवस्था भए कारणसहित आवेदकलाई जानकारी दिनुपर्नेछ । यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकेको हुनेछ । जसमध्ये सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने छ । यदि १५ प्रतिशत ब्याज भएमा ऋणीले १० प्रतिशतमात्र तिरे पुग्छ । शिक्षित युवा स्वरोजगार कर्जाको सीमा ७ लाख हुने छ भने उच्च शिक्षा अध्ययन कर्जाको सीमा ५ लाख रुपैयाँ हुने छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू