अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 16:46

आशिष र अदीतिलाई मोडल हन्ट नेपालको उपाधि

बिआरटीनेपाल २०७५ भदौ ३० गते ९:३१ मा प्रकाशित

काठमाडौँ – मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष् के.सी. र अदीति अधिकारीले जितेका छन् । शुक्रवार साँझ काठमाडौँस्थित होटेल सोल्टीको मेघा मल्हार प्रेक्षालयमा आयोजित कार्यक्रममा ३१ प्रतियोगीलाई पछि पार्दै आशिष् पुरुष तर्फको उपाधि विजेता बन्दा अदीतिले २४ प्रतियोगीलाई पछि पार्दै युवती तर्फको उपाधि हात पारिन् । 

साजसज्जा सहित भव्य रूपमा निर्माण गरिएको रनवेमा फेसनमय वातावरण सहित आयोजना भएको प्रतियोगिताका विजेता दुवैले नगद पुरस्कार रु ५० हजार प्राप्त गर्नु गरे । यी दुवै मध्य आशिषले मिस्टर ओशियन तथा अदीतिले सुपर मोडल अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नुको अलावा कोरियामा सञ्चालन हुने एलबिएमए अवार्डमा समेत भाग लिने नेपाली प्रतिनिधि बन्ने छन् । प्रतियोगितामा आशिष् र अदीतिले कमर्सियल मोडलको अवार्ड जित्न पनि सफल भए । 
नेपालकै सर्वाधिक चर्चित र स्तरीय मोडल प्रतियोगिताको रूपमा स्थापित मोडल हन्ट नेपालको यो चौथौँ संस्करण हो । प्रतियोगितामा सुरज राजोपाध्याय र रुबिस्का श्रेष्ठ फस्ट रनर अप, मुनिर अहमद र हेलि गुरुङ सेकेन्ड रनर अप तथा आदर्श ज्ञवाली र सन्नी महर्जन थर्ड रनर अप विजेता घोषित भए ।

रनर अप विजेता सुरज र रुबिस्काले नगद पुरस्कार ३० हजार, मुनिर र हेलिले २० तथा आदर्श र सन्नीले रु १५ हजार प्राप्त गरे ।  चौथौँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताको प्रस्तुति करण र आयोजनालाई परिष्कृत र स्तरीय बनाउन आफू सफल भएकोमा कार्यक्रम आयोजना प्रमुख रवि धमलाले खुसी व्यक्त गरे । आई सी स्कुल अफ आर्ट एन्ड फेसनका विद्यार्थी डिजाइनरहरूको विविधता युक्त सुन्दर, आकर्षक र मनमोहक पहिरनमा सजिएका सहभागीहरूको प्रस्तुति व्यावसायिक मोडलहरूको भन्दा कमको थिएन ।

अन्तर्राष्ट्रिय स्तरको रनवे स्टेज, झकिझकाउ सजावट र व्यावसायिक प्रस्तुतिले अविस्मरणीय बन्न पुगेको मोडल हन्ट नेपाल २०१८ को निर्णायक मण्डलमा फेसन तथा कमर्सियल फोटोग्राफर राजभाई सुवाल, आई सी ग्रुप अफ कम्पनीजीका प्रबन्ध निर्देशक शैलजा अधिकारी, कहलिएका फेसन डिजाइनर विश्व गौतम, कोरियोग्राफर एवं मिडिया पर्सनालिटी माल्भिका सुब्बा तथा अभिनेत्री एवं मोडल पारामिता आर एल राणा रहेका थिए ।

फेसन सो शैलीमा सञ्चालन गरिएको ‘मोडल हन्ट नेपाल २०१८’ प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।  कार्यक्रममा सोचे भन्दा सफल भएको सन्तोष व्यक्त गर्दै आयोजना संस्थाकी यातना पाण्डेले नेपालको मोडलिङ क्षेत्रलाई व्यावसायिक, व्यवस्थित र विस्तारित गर्नका लागि मोडल हन्ट नेपालले महत्त्वपूर्ण योगदान दिने बताइन् । प्रतियोगितामा विशाल गिरी र किरण चन्द पर्सनालिटी, आदर्श ज्ञवाली र हेलि गुरुङ क्रमशः फिजिक र फिगर, सफल जङ्ग शाह र रुबिस्का श्रेष्ठ फोटोजेनिक, पोषण शर्मा र भावना बन्जारा वेष्ट वाक अवार्डमा विजेता चयन भएका थिए ।

त्यसै गरी सम्राट् चौरेल र ऋतु अधिकारी पपुलर, विशाल गिरी र रहिमा लामिछाने पब्लिक च्वाइस, सुजन थापा र रीतिका शर्मा स्टाइलिस तथा सफल जङ्ग शाह र सन्नी महर्जन सोशियली रेस्पोन्सिबल विधातर्फ विजेता बन्न सफल रहे । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू