लन्डन । गैर आवासीय नेपाली सङ्घ मध्यपूर्व क्षेत्रीय भेलाले श्रमिकका बारेमा ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । सङ्घका प्रवक्ता भूषण घिमिरेले मङ्गलवार जारी गरेको विज्ञप्तिअनुसार वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा चुनौती र समस्यामा भेलाले गम्भीर छलफल गर्नेछ ।
‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार ‘ज्ञान, सीप, विप्रेषण र उद्यमशीलताक समृद्धिको आधार’ भन्ने नारासहित अगष्ट २३ देखि २५ तारिखसम्म युएईको दुबईमा छैटौँ मध्यपूर्व क्षेत्रीय बैठकको आयोजना हुँदैछ । मर्यादित र सम्मानित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा रहेका नेपालीले भोग्नुपरेको समस्या पहिचान गरी नेपाल सरकारको ध्यानाकर्षण गराउनु यस बैठकको मुख्य उद्देश्य रहेको प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बिस लाख भन्दा बढी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू श्रमिकका रूपमा यस क्षेत्रमा कार्यरत हुनुहुन्छ । संख्यात्मक रूपमा सबैभन्दा धेरै नेपाली कार्यरत रहेका यस क्षेत्रका नेपालीहरूको समस्याहरू सम्बोधन गर्नु यस सम्मेलनको प्रमुख उद्देश्य हो ।
नेपालमा भित्रने कुल रेमिट्यान्सको करिब ६० प्रतिशत मध्यपूर्वबाट नै आउँछ । तर त्यो क्षेत्रमा कार्यरत गैर आवासीय नेपालीहरू विभिन्न अप्ठ्यारोमा पर्दा सहज सहयोग पाउने वातावरण बन्न सकेको छैन । मध्यपूर्वमा कार्यरत नेपालीहरू माझ स्थानीय भाषा र कानुनमा ज्ञानको कमी तथा सूचना अभाव लगायत विविध कारणले जेल जीवन बिताइरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पीडा एकातिर छ भने अर्कोतर्फ काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएकाहरूको समस्या उस्तै छ । स्वास्थ्य तथा सुरक्षाका बारेमा चेतना नहुनाले कतिपयले अकालमा ज्यान गुमाउनु परेका यथार्थता सर्वविदितै छ । तसर्थ यी सबै पक्षमा बैठकले गम्भीरतापूर्वक छलफल गर्नेछ र त्यस्ता समस्या निराकरणका लागि सुझाव प्रस्ताव गर्नेछ ।
विदेशमा कडा परिश्रम गरेर विप्रेषण भित्याउनेहरुले सोचे जस्तो आम्दानी र बचत गर्न सकेका छैनन् । उनीहरूको आय मूल रूपमा अनुत्पादक उपभोगमा खर्च हुँदा भविष्य सुनिश्चित हुन सकेको छैन । विदेशबाट पठाएको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नेरगराउने वातावरण बन्न सकिरहेको छैन । यस विषयमा पनि बैठकमा छलफल गरिनेछ । साथै वैदेशिक रोजगारीमा जाने नेपालीहरूको जनचेतना वृद्धिका निम्ति गर्नुपर्ने कार्यहरू, विदेशमा सिकेका ज्ञान तथा सीप मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने पनि यस पटकको बैठकको छलफलको अर्को महत्त्वपूर्ण विषय हो ।
त्यसका साथै वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सिपमुलुक तालिम तथा फर्केर आएका युवा युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन, समाजमा पुनर्स्थापना र समायोजन, स्वास्थ्य सुरक्षा सम्बन्धी र आफूलाई अफ्ठ्यारो पर्दा कुन निकायमा कसरी सम्पर्क गर्ने भन्ने कुराको चेतना, घरेलु कामदारको समस्या, सामाजिक सुरक्षा कोष, हजारे अभियान, वैदेशिक रोजगारीमा जाने क्रममा हुने ठगी नियन्त्रण फ्री–टिकट तथा भिसाको कार्यान्वयन, अंगभंग भएका र मृत्यु भएकाको परिवारलाई सरकारले दिनुपर्ने सुविधा लगायतका विषयमा समेत बैठकमा छलफल हुने छ ।
यस्तै विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैङ्कको स्थापना, अनलाइन प्रणालीमार्फत विभिन्न निकायहरुलार्ई जोडी कामदार र सरकारी निकायबिच समन्वय, वैदेशिक रोजगारीमा गएकाहरूको लागि सञ्चय कोष जस्ता विषयमा बैठकले ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । बैठकका निष्कर्षहरूलाई सरकारलगायत सम्बन्धित निकायहरू समक्ष पु-याइनेछ’, विज्ञप्तिमा भनिएको छ ।