कवि हो मूर्च्छना खोल्ने बोल्न लाउँछ अक्षर
कवि हो भावना बोल्ने बोल्छ लेखी बराबर
कविले सिर्जना बोल्दा सूर्य–चन्द्र उदाउँछ
कविताबाट सत्ताको कुर्सी नै डग्मलाउँछ
कविले शब्द रोपेर सहकाल फलाउँछ
कविको काव्यथाङ्ग्रामा संस्कृति लहराउँछ
कविको कल्पनाभित्र चेतना जुर्मुराउँछ
कविले शब्दका बाण हानी दम्भ लडाउँछ
कविले कविता बोल्दा पहरो थर्थराउँछ
भरेर श्वास ढुङ्गामा बोल्न सक्ने बनाउँछ
शब्दको सारथी बन्दै भावना दगुराउँछ
ढुङ्गाको तालमा नाच्दै पानीले गीत गाउँछ
कविको कविताभित्र भविष्य सल्बलाउँछ
मरेको लास जागेर चितामै चल्मलाउँछ
कविले व्यङ्ग्यको लाठी शब्दबाटै चलाउँछ
हानेर शब्दको गोली दुष्ट, बैरी ढलाउँछ
कविले सिर्जनाबाटै क्रान्तिको घोष गर्दछ
शान्तिको अस्त्र सिर्जेर युध्दसन्त्रास चिर्दछ
निचोर्दै शब्दका डल्ला निकाल्छ भावको रस
ढुङ्गामा तिर्सना खोपी कवि जीवन भर्दछ
कविले आर्तको घाउ काव्यले सुमसुम्याउँछ
पिलाई काव्यको घुट्का उठ्न सक्ने बनाउँछ
काव्यकै रापमा जल्छन् विकृति र विसङ्गति
काव्यकै सिर्जनाबाट फेरिन्छ दुष्टको मति
कविले सिर्जना गर्छ सिर्जना फुल बन्दछ
फुलले वासना छर्छ बास्नाले चित्त हर्दछ
कविको सिर्जनाभित्र समृद्धि फुल्छ सुन्दर
समृद्धि सिर्जना बुन्छ मान्छेको हृदयान्तर
०००००