अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३० | Colorodo: 20:45

जि सेभेन को विज्ञप्ति अनुमोदन नगर्नु– राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७५ जेठ २७ गते ९:५८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा जारी रहेको ठूला औद्योगिक राष्ट्रहरुको समूह जि सेभेन को सम्मेलनले निकालेको निष्कर्ष र त्यसपछि जारी हुने संयुक्त विज्ञप्ति अनुमोदन नगर्ने बताउनुभएको छ । 

उहाँले भन्नुभयो– हामीले उक्त सम्मेलनको निष्कर्ष स्वीकार गर्न सक्दैनौँ र त्यस सम्मेलनपछि जारी गर्ने भनिएको संयुक्त प्रेस विज्ञप्तिलाई पनि हामीले अनुमोदन गर्नेछौनौँ ।

राष्ट्रपति ट्रम्पले उक्त सम्मेलनका लागि क्यानाडामै रहेका अमेरिकी प्रतिनिधिलाई त्यस विज्ञप्तिलाई अनुमोदन नगर्नु भनी निर्देशन दिएको जानकारी दिनुभएको बताइएको छ ।

क्यानडाले यसअघि भनेको विषयमा अडान दोहोराएर अमेरिकालाई धोका दिएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले सो धारणा राख्नुभएको हो ।

तर अरु सदस्यहरुले भने शिखर बैठकपछि जारी गर्ने भनिएको संयुक्त वक्तव्यमा आफूले अनुमोदन गरेको विषयबाट अमेरिका पछि हटेको आरोप लगाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले अमेरिकामाथि ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका देशहरूले ठूलो मात्रामा कर लगाइरहेको तर आफूले उनीहरुमाथि करको कुरा गर्दा यस्तो व्यवहार गरेको पनि बताउनुभएको छ ।

ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका सदस्य राष्ट्रहरुले अमेरिकाले स्टील र एलुमिनियम आयातमा हालै लगाएको करको विषयलाई लिएर नीतिमा आधारित व्यापार प्रणाली नामको संयुक्त वक्तव्यमा सहमति गर्ने सहमति भएको थियो ।

त्यस सहमतिपछि भने दुवैतर्फको कर लगाइने भन्ने बारेमा केही समाधान निस्किएको बताइएको थियो । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोले अमेरिकाले कर लगाएमा क्यानाडाले पनि जुलाइ १ देखि कर लगाउने बताउनुभएको थियो । त्यस भनाईप्रति अमेरिकाको कडा विरोध आएको हो ।

उहाँले राष्ट्रिय सुरक्षामा चासो भनेर यस्तो सुरक्षाका नाममा अमेरिकाले स्टील र एलुमिनियममा कर लगाएको विषय कहिल्यै पनि न्यायसंगत हुन नसक्ने धारणा राख्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पको यो पछिल्लो निर्णयका बावजुद पनि युरोपेली संघ उक्त संयुक्त वक्तव्यप्रति कटिबद्ध भएर रहने पनि जि सेभेनमा उपस्थित नेताहरुको अडान छ ।

पर्सी मङ्गलबार सिङ्गापुरमा हुन लागेको उत्तर कोरियाली नेतासँगको शिखर बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले जि सेभेन सम्मेलनमा रहेका अमेरिकी प्रतिनिधिहरूलाई जी सेभेनको संयुक्त वक्तव्यलाई अनुमोदन नगर्न निर्देशन दिनुभएको हो ।

आइतबार बिहान ट्वीट गर्दै उहाँले आफ्नो यो विचार रहेको भनेर उक्त कर प्रणाली र जि सेभेन समूहका बारेमा आधिकारिक धारणा स्पष्ट गर्नुभएको समाचारमा जनाइएको छ ।

त्यस ट्वीट सन्देशमा राष्ट्रपति ट्रम्पले क्यानाडेली प्रधानमन्त्रीले झूठो वक्तव्य दिएको आरोप पनि लगाउनुभएको छ । उहाँले अमेरिकका किसानका उत्पादनहरु, यहाँका मजदुर र अमेरिकी कम्पनीहरूमाथि क्यानाडाले व्यापक मात्रामा कर लगाएको बताउनुभएको छ ।

आफ्नो ट्वीट अकाउन्टमा राष्ट्रपति ट्रम्प क्यानाडेली प्रधानमन्त्री ट्रयुडेउसँग निकै नै अनुदार देखिनुभएको छ । उहाँले जि सेभेनको बैठकमा क्यानाडेली प्रधानमन्त्री नरम र भद्र देखिएको भए पनि पछि भने अमेरिकी करहरूको व्यापक आलोचना गरेको र त्यसले अमेरिकी अर्थतन्त्रकै अपमान भएको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू