अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 18:22

बजेटलाई दृष्टिगत गरी मौद्रिक नीति आउनुपर्नेमा अर्थविद्हरुको जोड

बिआरटीनेपाल २०७५ जेठ २७ गते ९:२९ मा प्रकाशित

आर्थिक विकासको आधारका रूपमा रहेको आव २०७५/७६ को बजेटलाई दृष्टिगत गरी मौद्रिक नीति आउनुपर्नेमा अर्थविद्हरूले जोड दिनुभएको छ । नेपाल व्यवस्थापन सङ्घले आइतबार काठमाण्डौमा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमाथिको छलफल’ कार्यक्रममा उहाँहरूले सो कुरामा जोड दिनुभएको होे । 

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरन्जीवी नेपालले मुलुकमा राजनीतिक स्थायित्व हुने सरकार बनेको कारण लगानीकर्ताको आकर्षण बढेको र उनीहरूलाई लगानी गर्न प्रोत्साहन मिलेको छ भन्नुुभयो । राजनीतिक अस्थिरता भएको विगतका वर्षमा पनि सात प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै उहाँले यस आवमा आर्थिक वृद्धिदर आठ प्रतिशत हुने अपेक्षा गरिएको उहाँको धारणा थियो ।

विदेशी सञ्चिति रु एक हजार ७२ अर्ब रहेको जानकारी दिँदै उहाँले अब आर्थिक क्रियाकलाप बढ्ने तथा रोजगारीको अवसर सिर्जना हुने बताउनुभयो । पूर्व अर्थमन्त्री मधुकरशम्शेर राणाले देशको आर्थिक विकासका लागि सरकारको ध्यान जानुपर्ने औँल्याउँदै देशको आर्थिक विकास बिना अर्थतन्त्र बलियो हुन नसक्ने बताउनुभयो ।

नेपाल वित्त कम्पनी सङ्घका अध्यक्ष सरोजकाजी तुलाधारले वित्त कम्पनीको पुँजी बढेर हाल रु १८० करोड पुगेको जानकारी दिँदै सरकारले हालै ल्याएको बजेटले निजी क्षेत्रको व्यापक सहभागिता खोजेको उल्लेख गर्नुभयो । कार्यक्रममा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, सङ्घका महासचिव मोहनराज ओझालगायतले मौद्रिक नीतिबारे बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू