अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 08:38

महिलालाई ठाउँ नदिंदा नेकपा दर्ता भएन

बिआरटीनेपाल २०७५ जेठ २० गते १८:१९ मा प्रकाशित

काठमाडौँ–नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि योग्य हुन अहिले केन्द्रीय समितिमा सहभागी गराएको महिलाको सङ्ख्यालाई कम्तीमा दोब्बर पार्नुपर्ने निर्वाचन आयोगका अधिकारीले बताएका छन्।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले दल दर्ता ऐन बमोजिम समावेशिताको सिद्धान्त नेकपाले पालना नगरेकोले दल दर्ताका लागि कठिनाइ भएको बताए । उनले आयोगको कानुनी शाखाले यसबारे विस्तृत अध्ययन गरिरहेको बताउँदै निर्वाचन आयोगले दल दर्ताबारे शाखाको अध्ययन पश्चात् निर्णय लिने बताए ।

  • नेकपाले कानुन लत्यायो
    ३३ प्रतिशत महिना सहभागिता नभएकाले पार्टी दर्ता भएन
    अब कि त महिलाको सङ्ख्या बढाउन केन्द्रीय समितिको सङ्ख्या विस्तार गर्नुपर्ने
    कि त पुरुषलाई हटाएर महिलाको सङ्ख्या थप्नुपर्ने

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि गठन भएको नेकपाको केन्द्र्रीय समितिमा हाल ४ सय ४१ सदस्य छन् । जसमा महिलाको सङ्ख्या ७२ मात्र छ । यो कुल सङ्ख्याको १६ प्रतिशत मात्रै हो । दल दर्ताका लागि पार्टी दर्ता ऐन २०७४ को धारा १५ (४) बमोजिम महिलाको सहभागिता ३३ प्रतिशत अनिवार्य हुनुपर्ने प्रावधान छ।
यस्तै नेकपाको स्थायी कमिटी र केन्द्रीय सचिवालयको अवस्थापनि उस्तै छ, जहाँ महिलाको सङ्ख्या अत्यन्त न्यून छ। ४५ सदस्यीय स्थायी कमिटीमा दुई जना मात्र महिला छन् । नौ सदस्यीय सचिवालयमा महिलाको सहभागिता छैन।

एकतापछि नेपालको सबैभन्दा ठुलो पार्टी बनेको सत्तारुढ नेकपाले पार्टीका हरेक क्षेत्रमा महिलाको सहभागितालाई घटाउँदै लगेकोमा पार्टी भित्र र बाहिर आलोचना भइरहेको छ।

निर्वाचन आयोगका अधिकारीहरूले समावेशितामा देखिएको समस्या समाधानका लागि पार्टीका शीर्षस्थ नेताहरूलाई जानकारी गराइसकेको बताए । नेकपाले महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्न केन्द्रीय सदस्यको सङ्ख्या बढाउँदै महिला सहभागिता बढाउनुपर्नेछ वा समितिमा रहेका पुरुष सदस्यको स्थानमा महिला ल्याउनुपर्नेछ ।
नेकपाका नेता देव गुरुङले पार्टीले यी दुवै विकल्प माथि छलफल गरिरहेको बताउँदै समस्या समाधानका लागि निर्वाचन आयोगसँग कुरा भइरहेको बताए ।

महिला सहभागितालाई लिएर पार्टी दर्ताकालागि कानुनी जटिलतामा फसेको नेकपाको पहिलो केन्द्रीय समितिको बैठकमा समेत पार्टी नेतृत्वको महिला सदस्यहरूले आलोचना गरेका थिए । बैठकमा बोल्दै पार्टी नेतृहरू पम्फा भुसाल, अष्टलक्ष्मी शाक्य, वृन्दा पाण्डे लगायतकाले पार्टीका हरेक क्षेत्रमा महिलाको न्यून  सहभागिताबारे कुरा उठाएका थिए । बैठकमा बोल्दै शाक्यले कानुनले नै पार्टीभित्र ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेकोले पार्टीले गल्ती सच्याउदै यसबारे सही निर्णय लिने विश्वास व्यक्त गरेकी छन् ।  रिपब्लिका दैनिकबाट

प्रतिक्रिया