अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 22:00

सिल्भर जुब्लीमा रेखाको एकल गायन

कृष्ण भट्टराइ, काठमाडौँ २०७४ फागुन २५ गते ९:५६ मा प्रकाशित

काठमाडौँ– सिमसिमे पानीमा गीत लेखन, सङ्गीत र गाएर नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो परिचय बनाएकी गायिका रेखा शाहले राजधानीमा एकल गायन कार्यक्रम सम्पन्न गरेकी छिन् । २०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत गायन प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको उनको पहिलो गीत ‘सिमसिमे पानीमा’ गाएको २५ वर्ष पुगेको अवसरमा उनले एकल गायनसँगै सिल्भर जुब्ली वर्ष मनाएकी हुन् । 

राजधानीको याक एण्ड यति होटेलमा रेखा शाह फाउन्डेसनद्वारा आयोजित समारोहलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय थममाया थापाले उद्घाटन गरेकी थिइन् । गीतगायनमार्फत् राज्यलाई सेवा गरिरहेकी रेखाका गीतको आफू पनि फ्यान भएको मन्त्री थापाले बताइन् । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारी आयोजना गरिएको सो समारोहमा मन्त्री थापाले आयोजक संस्था रेखा शाह फाउन्डेसनको तर्फबाट समाजसेवामा सक्रिय शक्ति समूह नेपालकी संस्थापक सदस्य चरिमाया तामाङ र वरिष्ठ गायिका तारा थापालाई ताम्रपत्रसहित जनही रु. ११,१११÷– ले सम्मान समेत गरिन् ।

आफ्नो जन्मको सार्थकता झल्काउन आफ्नै नाममा रेखा शाह फाउन्डेसन नामक सामाजिक संस्था स्थापना गरी समाजसेवामा सक्रिय रहेको गायिका शाहले सो समारोहमा बताइन् । राजधानीका सामुदायिक र निजी विद्यालयमा अध्ययनरत विपन्न वर्गका करिब १ दर्जन बालबालिकाको माध्यमिक तहसम्मको शिक्षामा सो संस्थामार्फत् गायिका शाहले आर्थिक सहयोग गर्दै आइरहेको बताइन् ।

एकल गायन कार्यक्रममा सिमसिमे पानीमाका अलावा एक दिन तिमी फर्की आउनेछौ, तिमीलाई केही, सइँको घर काँ हो काँ लगायतका आफ्ना गीत र नारायण गोपाल, तारादेवी, अरुणा लामा, डेजी बराइली, प्रेमध्वज प्रधान, उषा मंगेशकर, ज्ञानु राणा जस्ता अग्रज कलाकारका गीतहरू प्रस्तुत गरेकी थिइन् ।

गोपाल योञ्जनको शब्द, सङ्गीत र नारायण गोपालको स्वरमा रहेको तिम्रो जस्तो मुटु मेरो पनि रेखाले गाउँदा उपस्थित दर्शकले उनको गायकीको खुलेर तारिफ गरेका थिए । सुरज कुमार थापासँग युगले गायनमा उनले रातो र चन्द्र सूर्य, मान्छेको माया यहाँ, हेर न हेर कान्छा र नमान लाज यस्तरी गाइन् ।

द लिजेन्ड ब्यान्डले वाद्यवादनमा साथ दिएको सो कार्यक्रममा रातो र चन्द्र सूर्यबाट गायकीको सुरुवात गरेकी उनले दुई लोकगीत सइँको घर काँ हो काँ र सिमसिमे पानीमा गाएर कार्यक्रमको बिट मारेकी थिइन् । आफ्नो गायकीको २५ वर्ष पुगेको सन्दर्भसँगै आफू जेन्डर स्टडीजकी स्नातकोत्तर विद्यार्थी भएकाले लैंगीक समता र समानताका लागि नारी दिवसको दिन कार्यक्रमको आयोजना गरेको उनले बताइन् । 

वरिष्ठ गीतकार किरण खरेलको समुपस्थितिमा उनकै गीत नमान लाज यस्तरी गाउँदा खरेल भावुक देखिएका थिए । गीत रेकर्ड भएको ५५ वर्षपछि सुन्दा झनै कर्ण प्रिय लागेको उनले बताए । कार्यक्रममा सङ्गीतकार न्ह्यू बज्राचार्य, कवि गीतकार विप्लव प्रतीक र नायिका करिष्मा मानन्धरले गायिका शाहलाई शुभकामना मन्तव्यसहित गायकी जीवनको रजत वर्षको शुभकामना दिएका थिए । सिमसिमे पानीमा जस्तो अन्तर्राष्ट्रिय जगत्ले गुनगुनाउने गीत यो राष्ट्रलाई दिएकी गायिका सबै गीतमा स्वर भर्न सक्ने भर्सटाइल हुनु अझै गौरवको कुरा भएको उनीहरूको भनाइ थियो ।

देशव्यापी लोकगायन प्रथम स्थान–रेडियो नेपाल, युवा छिन्नलता गीत पुरस्कार, म्युजिक अनर्स–रेडियो कान्तिपुर, ईमेज, कालीका, अन्नपूर्ण एफ यमलगायतका अवार्ड र सम्मान प्राप्त गरेकी शाह अभिनयमा पनि सक्रिय छिन् । आफ्ना गीतहरूमा उनी आफैले अभिनय गर्दै आइरहेकी छिन् ।

शास्त्रीय सङ्गीतमा सिनियर डिप्लोमा अध्ययन गरिरहेकी उनले द लाइन, आकृति, स्मृतिजस्ता एल्बमहरू प्रकाशन गरेकी छिन् । ‘तिमीलाई केही हुँदै नहोस्’, ‘एक दिन तिमी फर्की आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लै’, ‘पोखूँ भने’ लगायतका उनका गीत चर्चित छन् ।

सम्बन्धित सामग्रीहरू