अघि तिमीले सोध्यौ
मेरो कविताको अर्थ ।
अर्थ भित्र अझ खोज्यौ
कुनै जीवन रहस्य ।
अर्थसून्य म आफै,
कसरी भन्न सकुँ,
यसमा छ कुनै अर्थ ।
रित्तो जीवन जिउने आफै,
म कसरी देखाउन सकुँ,
यसमा छ कुनै जीवन रहस्य ।
यो त केवल एउटा
बेरीत कोरिएको
भावनाको शब्द-चित्र न हो ।
लक्षहीन मनभित्रबाट
निस्केको अमूर्त
एउटा छायाँवृत्त न हो ।
हुन सक्छ,
प्रकृतिको निष्तब्ध कोखबाट
अनायास निस्केको
एक उद्बेग हो ।
या त,
दनदनी बलेको
आगोको मुस्लोबाट
बेतोड निस्केको
एक अग्निपुंज हो ।
हुन सक्छ,
एक्लो निर्जन संसारको
सुन्यताबाट निस्केको
एक प्रतिबिम्ब हो ।
या त,
बिशाल भीड़को कोलाहल
बीचबाट निस्केको
एक चित्कार हो ।
नियालेर हेर
चित्रमा आफै,
सायद ती छायाँ भावहरु
तिमी देख्न सक्छ्यौ ।
अझैं नियालेर हेर कतै,
आफ्नै मनोभाव गाँसिएको
कुनै बिम्ब भेट्न पनि सक्छ्यौ ।
ध्यान दिएर सुन,
त्यो चित्कारमा कतै,
आफ्नै मनो-आवाजको
प्रतिध्वनि सुन्न पनि सक्छ्यौ ।
नसोध मलाई, मेरो
कविताको अर्थ ।
नखोज अर्थभित्र
कुनै लुप्त रहस्य ।
तिनैको खोजीमा कतै,
आफै पनि हराउन सक्छ्यौ ।
# कृष्ण भट्ट, नवलपरासी (हाल क्यानाडा)