कसैले भने
तिमी गुलाफको फुल हौ !
के म त्यही
कोमल गुलाफको फुल हुँ त ?
रक्तिम लालीमा फिँजेर अङ्ग भरि
पत्र पत्रमा मग्मगाउँदै
निश्चल र स्निग्ध प्रारुप जस्तै
कसैको मन भरि फुल्ने
के म गुलाफ हुँ त ?
सृष्टिको अनुपम कला रे
प्रकृतिको लालित्य छटा रे
भन्नेले त के के भने
तर म !
कहिले काँडाहरूसँग पैाँठेजोरी खेलेर
कतै भमराको कामुक वासना छलेर
घाम पानी असिनाको कठोर नियतिलाई
भोग्दै फुल बनेकी हुँ
म फुलेकी छु ,फक्रिएकी छु
मेरो सौन्दर्यलाई सुम्सुमाउँदै
केही सुकोमल हातहरू
केही दरफराउने हातहरू
स्पर्शको लालसाले
नजर बिछ्याउँछन् बाटो भरि
हो
म कोमल गुलाफ हुँ
श्रदाले हेर्दा म सुन्दर हुन सक्छु
विश्वासमा कोमल हुन सक्छु
तर कामुक हेराइमा
वासना देखिन सक्छु
र
पटक पटक साटिन्छु म
कहिले देवालयमा
कहिले विजय उत्सवमा
कहिले पर्व कहिले हर्ष
कहिले आस कहिले लास
सबै तिर म साटिन्छु
शुभकामनामा होस् या प्रणयमा
निशर्त म साटिइरहन्छु
के थाहा ?
फुल चुडेर लानेहरुलाई
कोपिलादेखि फूलसम्मको यात्रामा
कतै तापमा छट्पटिदै
कतै ठिहीमा कठाङ्ग्रिदै
तप तप आँसुका शीतहरू
पोखेर हर बिहानी फुलेको हुन्छ
गुलाफ पनि !!