भक्तपुर, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज साँझ ओली निवास, बालकोटमा भेटवार्ता भएको छ ।
साँझ सवा ६ बजे ओली निवास पुग्नु भएका प्रचण्ड र ओलीबिच करिब डेढ घण्टा भएको भेटवार्तामा पार्टी एकतालाई कसरी निष्कर्षमा पु¥याउने भन्ने र नयाँ सरकार निर्माण एवं राष्ट्रियसभा गठनबारे गम्भीर छलफल भएको छ ।
भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले मुख्य रूपमा पार्टी एकतालाई निष्कर्षमा पु¥याउनेबारे छलफल भएको बताउनुभयो । उहाँले पार्टी एकतालाई निष्कर्षमा पु¥याउनै पर्छ भन्नेमा आफूहरू बिच छलफल भएको बताउँदै उहाँले त्यसका लागि सोमबार आआफ्नो पार्टीभित्र छलफल गरेर मङ्गलवार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले पार्टी एकता संयोजन समितिबाट पार्टी एकता प्रक्रियालाई छिट्टै टुङ्गोमा पु¥याउनका लागि वैचारिक, राजनीतिक काम र सांगठनिक काम दुईवटै काम गर्नका निम्ति एउटा टिम बनाएर जिम्मा दिने र केही दिनभित्र पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउनेबारे दुई अध्यक्षबिच सहमति भएको जानकारी दिनुभयो ।
अब बन्ने एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने वा नगर्ने तथा कस्तो वैचारिक सङ्गठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा आज ओली र प्रचण्डबिच भेटवार्ता भएको हो ।
भेटमा दुई पार्टीका अध्यक्ष ‘वान टु वान’ (सहयोगी बिना) वार्तामा बस्नु भएको थियो । एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधवार बैंकक जाने तय भएपछि त्यसअघि नै समझदारीको प्रयास स्वरूप भेटवार्ता भएको बताइएको छ । रासस