चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङको नाम र विचारधारालाई आफ्नो विधानमा ‘माओवाद’ सरह स्थान दिएको छ । बेइजिङमा जारी पार्टी महाधिवेशनको अन्तिम सत्रले उनको ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’लाई ‘सी चिनफिङवाद’का रूपमा विधानमै ग्रहण गर्ने सर्वसम्मत निर्णय गरेको हो । पार्टी विधानमा सीको नयाँ युगलाई महत्त्वपूर्ण विचारधारा र वैज्ञानिक विकाससम्बन्धी धारणासँगै मिलेर चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशिका बनाउने कुरा समेटिएको छ । महाधिवेशनमा सीले प्रस्तुत गरेको प्रतिवेदनलाई ‘चिनियाँ कम्युनिस्ट पार्टी र सम्पूर्ण चिनियाँहरूको नेतृत्व गरी नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको विकास गर्ने राजनीतिक घोषणापत्र तथा कार्यक्रम निर्देशिका र माक्र्सवाद तथा लेनिनवादको निर्देशिका दस्तावेज भएको’ ठहर गरिएको छ ।
यसले चिनियाँ कम्युनिस्ट पार्टीमाथि राष्ट्रपति सीको पकड विधानमै संस्थागत भएको छ । राष्ट्रपति सी माओत्से तुङपछि चीनकै सर्वशक्तिमान नेता बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ सञ्चारमाध्यमले उनलाई पार्टी संस्थापक माओ बराबरको स्थान दिइएको बताएका छन् । पार्टी विधानमै ‘सी चिनफिङवाद’ उल्लेख भएपछि चीनमा कसैले पनि सीको विरोध गर्ने वा चुनौती दिन नसक्ने बीबीसीले जनाएको छ । पार्टी विधानमा गरिएका संशोधनले सीलाई थप शक्तिशाली बनाएको छ । पछिल्लो संशोधनको अर्थ राष्ट्रपति सीलाई दिइने कुनै पनि चुनौती कम्युनिस्ट पार्टीको शासनका निम्ति खतराका रूपमा लिइनेछ । सन् २०१२ मा पार्टी महासचिव भएदेखि नै सीलाई निकै शक्तिशाली नेताका रूपमा चित्रित गर्न थालिएको हो । पूर्वज हु चिन थावो र च्याङ च मिनको तुलनामा उनले आर्थिक तथा कूटनीतिक कार्यलाई तीव्र रूपमा बढाएका छन् । सीको चिनियाँ सपनाले सांस्कृतिक, आर्थिक, औद्योगिक, प्राविधिक, सामाजिक, कूटनीतिक सबै क्षेत्रबाट चीनलाई पुनर्जागरण गराउने काम गरेको छ ।
कम्युनिस्ट पार्टीको विधानमा कतिपय चिनियाँ नेताको विचारधारा समेटिए पनि यसअघि माओको विचारधारा मात्र ‘वाद’ का रूपमा समावेश थियो । संविधानमा माओत्से तुङ र देङ सियाओ पेङको विचारधारा मात्र उल्लेख छ । देङको नाम उनको मृत्युपछि मात्र संविधानमा समावेश गरिएको हो । पार्टीको पछिल्लो निर्णयसँगै अब चीनमा विद्यालय तथा कलेजमा अध्ययनरत छात्रछात्रा तथा सरकारी कर्मचारी गरी करिब ९ करोड कम्युनिस्ट पार्टीका सदस्यले अनिवार्य रूपमा ‘सी चिनफिङवाद’ पढ्नेछन् । पार्टीले सी चिनफिङवादको सुरुवातसँगै चीन आधुनिक युगको तेस्रो चरणमा प्रवेश गरेको जनाएको छ ।
गृहयुद्धमा फसेको देशलाई निकास दिन चिनियाँ नागरिकलाई एकत्रित गरेको भन्दै पार्टी संस्थापक माओको शासनकाललाई पहिलो चरण मान्ने गरिन्छ । चीनलाई थप एकीकृत, अनुशासित र विदेश नीतिमा मजबुत बनाएका कारण देङ सियाओ पेङको शासनकाललाई दोस्रो चरण मानिएको छ ।
महाधिवेशनले तत्कालीन अठारौं केन्द्रीय समितिको प्रतिवेदनसँगै अठारौं केन्द्रीय अनुशासन अनुगमन आयोगको कार्यप्रतिवेदनसमेत पारित गरेको छ । महाधिवेशनले सीपीसीको विधान संशोधनसमेत गरेको छ ।
महाधिवेशनले सीपीसीको केन्द्रीय समिति र केन्द्रीय अनुशासन अनुगमन आयोगको निर्वाचन गरेको छ । ३ सय ७६ निर्वाचित केन्द्रीय समितिमा २ सय ४ जना पूर्णकालीन र १ सय ७२ जना वैकल्पिक सदस्य छन् । त्यसैगरी केन्द्रीय अनुशासन अनुगमन आयोगमा १ सय ३३ सदस्य निर्वाचित भएका छन् । सीपीसीको बुधबार बस्ने पहिलो पूर्ण (प्लेनम) बैठकले २५ सदस्यीय पोलिटब्युरो र ७ सदस्यीय पोलेटब्युरो स्थायी समिति चयन गर्नेछ । महाधिवेशनबाट २ हजार ३ सय ८७ प्रतिनिधिले प्रान्तीय प्रमुख, गभर्नर र सरकारी स्वामित्वका उद्योगका प्रमुखसमेत चयन भएका छन् ।
के हो ‘सी चिनफिङवाद’ ?
पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति सीले चिनियाँ विकासको सफलता अरू कुनै ‘वाद’ नभएर समाजवाद भएको धारणा राखेका थिए । सीले ‘पूर्णरूपमा वैज्ञानिक समाजवादको सिको नगरी चिनियाँ वस्तुस्थितिसँग तादात्म्यता’ नै विकासको प्रमुख आधार भएको बताएका थिए । सिन्हवाका अनुसार अब उनको धारणा र साम्यवादको नयाँ स्वरूप नै चीनको ‘प्रमुख विचारधारा’ का रूपमा स्थापित हुने भएको छ ।
सीले व्याख्या गरेको चिनियाँ विशेषतासहितको समाजवाद अर्थात् ‘सी चिनफिङवाद’ चार दीर्घकालीन रणनीति समावेश छन् । जसमा मध्यम समृद्ध समाजको निर्माण, सुधारका कार्यक्रम, विधिको शासन र पार्टीको सुदृढीकरण समावेश छन् । यी रणनीतिअनुसार विगत ३० वर्षमा चीनले ७० करोड जनतालाई गरिबीको रेखामाथि उठाएको छ ।
धेरै पश्चिमा देशहरूको आर्थिक वृद्धिदर ओरालो लागिरहेका बेला चीन भने स्थिरतातर्फ अग्रसर छ । यसको कारण पार्टीको शक्तिशाली नेतृत्व र चिनियाँ विशेषतासहितको समाजवाद भएको सिन्हवाले जनाएको छ । सन् १९८२ को राष्ट्रिय कंग्रेसदेखि पार्टीले चिनियाँ विशेषतासहितको समाजवादको नारालाई उठान गरे पनि आधुनिक युगको तेस्रो चरणमा आएर चीनले यसलाई पूर्णरूपमा ग्रहण गरेको हो ।
दशकौंको तीव्र आर्थिक वृद्धिपछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनेको चीनको विगत ३ वर्षको कुल गार्हस्थ्य उत्पादन औसत ७.२ प्रतिशतले वृद्धि भएको छ । सीले जनतासमक्ष सन् २०२० सम्म मध्यम समृद्ध समाज निर्माण गर्ने एवं जनताको जीवनशैली सुधार गर्नमा चिनफिङवाद आवश्यक हुने जनाइएको छ । सन् २०२० सम्ममा मध्यम समृद्ध समाजको लक्ष्य हासिल गरेपछि देशभरका जनता सन् २०४९ सम्ममा आधुनिक समाजवादी राष्ट्र निर्माणमा उत्प्रेरित हुने सीले बताएका छन् । सीले अगाडि सारेको ‘सिल्क रोड’ को अवधारणाले चीन मात्र नभई अन्तर्राष्ट्रिय जगत्लाई नै जागरुक बनाएको छ । उनैले प्रस्ताव गरेको एसियाली पूर्वाधार लगानी बैंक भविष्यको सबभन्दा ठूलो वित्तीय संस्थाका रूपमा उदाउने अनुमान गरिएको छ । सुस्त र अन्तर्म‘खी चिनियाँ स्वभाव त्याग्दै सीले शक्तिशाली र विकसित मुलुक मात्र होइन, अल्पविकसित देशको भ्रमण गर्दै छिमेकी देशलाई पनि सम्पन्न बनाएपछि मात्र गरिबी र पछौटेपनबाट मुक्ति हुने कुरालाई अन्तर्राष्ट्रिय जगत्मा राख्दै आएका छन् ।
चिनियाँ राजनीतिक व्यवस्थाअनुरूप दीर्घकालीन विकास योजना तर्ज‘मा र प्रभावकारी कार्यान्वयन पनि चीनको विकासको अर्को मुख्य उपलब्धि हो । पार्टीले परिवर्तन भइरहने राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थाअनुरूप प्रतिबद्धता र नीति निर्माणमा स्थिर भएकाले पनि चीनलाई उक्त वृद्धिदर कायम राख्न सहयोग मिलेको हो ।
त्यसैगरी पाँच वर्षअघिको महाधिवेशनपछि अपनाइएको कठोर पार्टी शासन र भ्रष्टाचार नियन्त्रण पनि चिनफिङवादका विशेषता हुन् । विश्वव्यापी शासन सुधारका लागि ‘विन–विन’ सहकार्यमा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने र हरेक देशको विकासप्रतिको अधिकार र समान राजनीतिक हैसियतमा चिनफिङवादले जोड दिएको आजको कान्तिपुरमा समाचार छ ।