कोलोराडो । अमेरिकाको विभिन्न राज्यहरूको भ्रमण गत फेब्रुअरी १५ देखि अप्रिल १५, २०२५ मा हुने भनिएको सुजन चापागाईँको कन्सर्ट अहिलेलाई क्यान्सिल गरिएको छ । उनको ८ जना टिम मध्ये उनी बाहेक अरु कसैले भिसा नपाएपछि कार्यक्रम स्थगित गरिएको हो ।
गायक सुजन चापागाईँले आफ्नो टिमले भिसा नपाउँदा अमेरिकाको विभिन्न ठाउँमा हुने भनिएका आफ्नो साङ्गीतिक कार्यक्रमहरू हाललाई स्थगित भएको सामाजिक सञ्जाल मार्फत बताएका छन् । यसको लागि दुई वर्ष देखि आन्तरिक तयारी गरिरहेको तर अहिले यो अवस्था आउँदा दुख व्यक्त गर्दै श्रोताहरुसंग माफी पनि मागेका छन् ।
उनको कार्यक्रम कोलोराडोमा मार्च २ मा हुने भनिएको थियो । उक्त कार्यक्रमको जिम्मा कोसेली समुहले लिएको थियो ।
सुजनले फेसबुकमा लेखेको मेसेज:
प्रिय दर्शक श्रोता नमस्कार
यही मिति २०२५ मार्च देखि अमेरिकाको विभिन्न राज्यका विभिन्न सहरमा तय भएको हाम्रो साङ्गीतिक यात्रा [आरोह अमेरिका टुर -सुजन चापागाईँ एण्ड द ब्याण्ड] कार्यक्रम हाललाई अनिश्चित भएको छ। नेपाल स्थित अमेरिकी राजदूतावासमा आज भिसाको लागि भएको अन्तरवार्ताको क्रममा हामी ८ जना ब्यान्डका सदस्य मध्ये १ जनाले मात्र भिसा प्राप्त गर्दा पूर्वनिर्धारित कार्यक्रमहरू प्रभावित बनेका छन्।
लामो समय देखि नेपाली गीत सङ्गीत मार्फत नेपाली दर्शक श्रोतालाई कसरी गुणस्तरीय सृजना प्रेषण गर्न सकिन्छ भनेर मिहेनत गरी रहेको कुरा दर्शक श्रोताहरूले बुझी दिनु भएकै छ। लगभग २ वर्षको आन्तरिक तयारी पश्चात् अमेरिकाबाट प्रत्यक्ष म्युजिकल लाइभ जर्नी पुन सुरुवात गर्ने बाचा पुरा गर्न नसक्ने जानकारी गराउँदै गर्दा नमिठो अनुभव पक्कै भएको छ। यो अनिश्चितताको कारण पर्न गएको असर प्रति सम्पूर्ण आयोजक, दर्शक तथा शुभचिन्तक प्रति क्षमा याचना गर्दछु । हामी पुनः भेट्ने छौँ ।