सान् फ्रान्सिस्को (क्यालिफोर्निया) । नेपाली राजदूतावास वासिङटन डीसीद्वारा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा सञ्चालित शिविरमा १ हजार ५ सय ६ जनाले राहदानी लिएका छन् ।
नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) र गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको स्थानीय व्यवस्थापन भएको शिविर ८ दिन चलेर बुधबार सकिएको हो । सुरुमा ५ दिन भनिएको शिविर राहदानी लिनेको भीड बढेपछि ३ दिन थप गरिएको थियो ।
स्थानीयको एकता र सहयोगले यति धेरैलाई राहदानी दिन सकिएको कार्यबाहक राजदूत शरदराज अरनले समापन समारोहमा बताउनुभयो । ‘यति ठूलो डायस्पोरा यहाँ छ भन्ने नै थाहा थिएन,’ अरनले भन्नुभयो ‘संस्था, अगुवा, पत्रकार सबैको एकता यस्तो अन्यत्र देखिएको थिएन ।’
क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्य दूत ऋषि ढकालले दूतावासबाट धेरै टाढा रहेको सान फ्रान्सिस्कोमा भएको यो शिविरले धेरैको आवश्यकता पूरा गरेको बताउनुभयो ।
नान्सका अध्यक्ष प्रितेश कार्कीले दूतावासका कर्मचारीको सबेरैदेखि अबेरसम्मको खटाइले शिविरमा धेरैले लाभ लिन सकेको भन्दै उहाँहरूको कामको प्रशंसा गर्नुभयो । त्यस्तै एनआरएनएका च्याप्टर अध्यक्ष हरि ओझाले स्थानीयको सहयोग पनि सराहनीय रहेको भन्दै धन्यवाद दिनुभयो ।
शिविर समापनका क्रममा ६३ जना स्वयं सेवकलाई दूतावासका तर्फबाट कार्यबाहक राजदूत अरनले हस्तान्तरण गर्नुभयो । आयोजक संस्थाका तर्फबाट नान्सका अध्यक्ष कार्की र एनआरएनएका च्याप्टर अध्यक्ष ओझाले कर्मचारीलाइ सम्मानस्वरुप प्रमाण पत्र प्रदान गर्नुभएको थियो । दूतावासबाट अरन स्वयंको नेतृत्वमा बिजनेस काउन्सिलर युगराज पाण्डे, थर्ड सेक्रेटरी सोना थडराई, बालकृष्ण भण्डारी, रामजी दाहालसहित ५ जना कर्मचारी पुरै दिन खटिएका थिए ।
नेपाली कम्युनिटी सेन्टरलाई सघाउन राजदूतको आग्रह
यसैबीच, समापन समारोहमा नान्सले यहाँ खरिद गर्न लागेको कम्युनिटी सेन्टरलाई सबैले सघाउन कार्यबाहक काबा राजदूत अरनले विशेष आग्रह गर्नुभयो । ‘कम्युनिटी सेन्टरले नै सबैलाई एकताबद्ध बनाउने हो,’ उहाँले भन्नुभयो । नेपाली संस्कृति संरक्षणलगातय विभिन्न नेपालीपन झल्काउने काम हुने कम्युनिटी सेन्टर जसरी बन्दैछ, भावी पुस्तासम्म झन् महत्त्वको हुनेछ ।
समापनको अघिल्लो दिन अरनले कम्युनिटी सेन्टरको आर्थिक संकलन सहयोग अभियानको कार्यलयमा पुगेर यसबारे जानकारी लिनुभएको थियो ।
नान्सले सान फ्रान्सिस्कोको रिचमन्डमा १ दशमलव ८ मिलियन डलरमा नेपाली कम्युनिटी सेन्टर खरिद प्रकृया सुरु गरेको छ । फेब्रुअरी १७ सम्ममा यसको हस्तान्तरण प्रकृया पूरा हुने नान्सका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । सो कार्यका लागि अहिले आर्थिक संकलन सहयोग अभियान जारी रहेको छ ।