अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 23:03

कता जाँदैछ नेपाली गजल ?

नवराज न्यौपाने 'मौन' २०८१ माघ १० गते १५:०० मा प्रकाशित

गजलको परिभाषा
गजल (उर्दू भाषामा غزل) प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिने अरबी साहित्यको काव्य विधा हो। गजल भनेको घढीमा ३ शेर देखि बढीमा जतिसुकै शेरमा (गजलको सुन्दरताको लागि ५ शेर सम्म राम्रो) हुने उर्दु र फारसी कविताको एक प्रकार हो।यसका सबै शेर एउटै रदीफ एवं काफियामा आबद्ध हुन्छन् र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छ। पहिलो शेरलाई मत्ला भनिन्छ, जसमा दुबै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मक्ता भनिन्छ, जसमा गजलकारले आफ्नो उपनामको प्रयोग पनि गर्न सक्छ। यसरी नाम प्रयोग गर्नुलाई तखल्लुस भनिन्छ । गजलको संग्रहलाई दीवान भनिन्छ। गजल भनेको प्रेमसम्बन्धी वा रागात्मक, पुरानो, लयात्मक कविताको एक प्रकार हो, जसमा सीमित श्लोक, उही अनुप्रासको आवृत्ति तथा पश्चिमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ। गजल भनेको जीवन र जगतबाट प्राप्त अनुभव र अनुभूतिलाईर् कोमल, हार्दिक र कलात्मक रूपमा प्रस्तुत गर्ने काव्यिक विधा हो। गजलको शेरमा गीत र कवितामा जस्तो कपोलकल्पना गरिँदैन। यसमा सत्य अभिव्यक्ति मात्र गरिन्छ।गजल भनेको रदिफ + काफिया + बहर (अर्को नामहरू: बह्र, मीटर, लय, या मात्रिक-क्रम) हो।गजल, गीत र कविता एउटै होईन। गजल भनेको गीत र कविता भन्दा छुट्टै विधा हो। गजलको आफ्नै परिधी वा संरचना हुन्छ। तर अहिले भने गजलको परिभाषा व्यापक भैसकेको छ ।

नेपालमा गजलको विकास
विक्रमको १९४० तिर मोतीराम भट्टले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजलको उदय गराए। मोतीराम भट्ट र उनका समकालीन मित्रहरू (मोतीमण्डली) ले बहरको नियम अपनाएर गजल लेखेका छन् । तर त्यसबेला नेपालीमा गजलसिद्धन्त प्रतिपादन भने भएको थिएन । पछि भीमनिधि तिवारी लगायतका कविहरूले आफ्नै मौलिक लयमा गजल लेख्ने परम्परा बसाए । तिवारीको ‘बयासी र बीस गजल -मेरी ‘ भन्ने गजल सङ्ग्रह प्रकाशित छ ।

विसं २००३ सालदेखि २०३५ सालसम्म धेरै कविहरूले मौलिक गजल लेखेका छन् । मौलिक नेपाली लय तथा स्वनिर्मित लयमा यसपछिका गजलहरू रचना गरिए। भूपि शेरचन, म.वी.वी.शाह, भीम विराग, राम मान तृषित, शङ्कर लामिछाने, ईश्वरवल्लभ, गोपाल प्रसाद रिमाल आदि प्रतिभाहरू देखिन्छन्।यस समयमा रचना गरिएका गजल भन्न रुचाइएका सिर्जनाहरूमा काफियाको व्यवस्थापन र प्रयोग अनि, रदीफ र तखल्लुस पनि प्राय भेटिदैन।

वि.सं. २०३६ सालको ‘मधुपर्क’ साहित्यिक पत्रिकामा ज्ञानुवाकर पौडेलको ‘मुक्तक’ शीर्षकमा प्रकाशन भएको एउटा रचनाले गजलले संरचनाभित्र प्रवेश गरेको मानिएको छ।ललिजन रावल – केही गजलहरू (२०४२), विरानो यो ठाउँमा (२०४६), सिरानीमा आँसु (२०५९), धर्मागत शर्मा ‘तुफान’– तुफानका गजलहरू, देशको माटो दुख्ने गर्छ, रवि प्राञ्जल– ‘उही बाढी उही भेल’, ‘घामका झुल्काहरू’, ‘तारिदेऊ न माझी दाइ’ आदि गजल सङ्ग्रहहरू प्रकाशनमा भएको छ।

विसं २०५० सालपछि नेपालमा थुप्रै गजलकारहरूको उदय भएको छ ।गजलकारहरू मनु ब्राजाकी डा. कृष्णहरि बराल, घनश्याम न्यौपाने ‘परिश्रमी’ आदि वरिष्ठताको श्रेणीमा बाँधिएका छन्।

यस कालका प्रमुख गजलकारहरू तथा कृतिहरूमा घनश्याम न्यौपाने ‘परिश्रमी’ – ‘यो मौसम ( २०५०) घामको छहारी ( २०५२) जून चुहेको रात (२०६०), मनु ब्राजाकी– गजलगङ्गा (२०५१) काँडाका फूलहरू (२०५६) के हेरेको ए जिन्दगी (२०६४), बूँद राना – रातो मलाई प्यारो (२०५६) चल्दैछ जिन्दगी (२०६४), वियोगी बुढाथोकी – आफन्तका चोटहरू (२०५२), राजेन्द्र थापा – सुर्जे पनि अस्ताउन मात्रै (२०६२) सहनैको छाती अचानो (२०६२), श्रेष्ठ प्रिया ‘पत्थर’ – पग्लिएका कथाहरू (२०५३) पत्थरका प्रलापहरू (२०५९) आँसुको सौगात (२०६०), कृष्ण पौडेल ‘बी’ – नानी हजुरको (२०६१), कृसु क्षेत्री – अद्र्धमुदित आँखाहरू (२०५८), मुन पौडेल – गजलोत्सव (२०५३), गोवद्र्धन पूजा – धर्तीको धूलोमा (२०५४). भीम विराग – भीम विरागका गीत गजल (२०५७) रासा –रात निदाएको रातमा (२०५८), माधव वियोगी –गुम्सिएका भावहरू (२०५८), ऋचा लुइँटेल – बाँसुरीका धुनहरू: (२०५८), पुष्पलता कलमका डोवहरू,- सन्तोश काफ्ले “स्पन्दन” ,२०६४-स्पन्दन, (२०६१ (बराल, २०६४, पृ.२१६–२६८) जनक खड्का जे के विरक्त रहेका छन्। यसै गरी हाल आएर प्रबासमा रहनु भएका नेपाली गजलकारहरूले पनि नेपाली गजलमा ठूलो योगदान दि रहनु भएका छन । जस्तै कामको सिलसिलामा मलेसिया जानु भएका नेपाली गजलकारहरूले “प्रवासी कलम मलेसिया” नामक साहित्य संस्थ गठम गरेर २०७० साउन ३० गते देस तथा बिदेसमा रहेर गजल लेखी रहनु भएका १०३ जना अग्रज तथा समकालिन गजकारहरूको ५,५ ओटा गजल समाबेश गरेर जम्मा ५१५ वटा गजलको अहिले सम्म कै प्रवासबाट प्रकाशन गरिएको सबैभन्दा ठूलो एक बृहत संयुक्त गजल सङ्ग्रह “सामुन्द्रीक छल्का” प्रकाशन गरेर नेपाली गजलमा एक इटा थप्ने काम भएको छ । यो योगदानको निम्ती “प्रवासि कलम मलेसियाको” अध्यक्ष दिपेन्द्र “अश्रुमाली”लाई धन्यवाद नदिई रहन सकिन्न। यसै गरी, नेपाली भाषी भूटानी गजलकारहरूले पनि गजल लेखनमा ठूलो योगदान दिनुभएको छ। जसरी मोतिराम भट्टले गजललाई नेपाल भित्र्याए, त्यसरी नै भूटान भित्र नेपाली गजल भित्र्याउने पहिलो नेपाली भाषी गजलकार ‘शेरू राई उदास’ हुन्। उनले वि.सं. २०५५/५६ मा पहिलो पल्ट भूटानमा नेपाली गजल भित्र्याएका हुन्। नेपाली भाषी भूटानी समुदायबाट पनि थुप्रै गजल संग्रहहरू प्रकाशित भएका छन्। यसै गरि नेपालमा सहकार्य सयुक्त गजल सङ्ग्रह पनि नेपालको ईतिहासमा सबै भन्दा ठूलो र धेरै सर्जक भएको गजल सङ्ग्रह हो । यो गजल संङ्रहमा १५१ जनाको गजल समावेस भएको छ भने ५९ जिल्लाको सर्जकहरु हुनुहुन्छ । सहकार्य गजल सङ्ग्रहको सम्पादन तथा संयोजक दिपेन्द्र अश्रुमालीले गर्नु भएको हो ।

यसरी गजल विधाले नेपाली माटोमा आफ्नो स्थान बनाइसकेको छ । हालसम्म गजल विधामा ५-६ जनाले विद्यावारिधि गरिसकेका छन् । त्यस्तै ,कैयौ व्यक्तिहरूले गजल बिषयमा सोधपत्र र कार्यपत्र पनि तयार पारिसकेका छन् । गजल सिद्धान्तका बारेमा धेरैले पुस्तक पनि लेखिसकेका छन् । गजल विषयमा विद्यावारिधि गर्ने व्यक्ति डा घनश्याम न्यौपाने ‘परिश्रमी’ हुन् । उनको गजल सौन्दर्य भीमांसा (गजल सिद्धान्त २०६४) प्रकाशित भएपछि मात्र नेपालीमा बहरको नियम भित्रिएको हो र गजल बहरमा मात्र लेखिने विधा हो भनेर जनचेतना फैलाउने काम भएको पाइन्छ । त्यस्तै गजलकार आवाज शर्माले पनि गजल र बहरको बिषयमा अरूजविज्ञान भन्ने पुस्तक लेखेका छन् । गजलकार करूण थापाले पनि गजल र बहरका बारेमा थुप्रै लेखहरू लेखेका छन् । यसरी गजल र बहरको अध्येताहरूले गजल बहरमा मात्र लेखिने शास्त्रीय विधा हो भनेर स्वीकार गरिसकेका छन् ।

डा घनश्याम न्यौपाने ‘परिश्रमी’ले ‘बहर र गजल’ भन्ने पुस्तक लेखेका छन् । सोही पुस्तक अध्ययन गरेर धेरैले बहरमा गजल लेख्न सिक्दै आएका पनि छन् । बहरमा लेखिएका रचनालाई मात्र गजल मानिने र बहर इतरमा लेखिएका गजलजस्तै रचनालाई चारु नामाकरण गरियो । यो अभियानमा गजल विधाको अगुवाई डा घनश्याम न्यौपाने ‘परिश्रमी’ले र चारु विधाको अगुवाई डा देवी पन्थीले गर्दै आएका छन् । यो अभियानलाई धेरैले सामर्थन पनि गरे र सोही अनुसार गजल र चारु विधाको अभ्यास गर्दै पनि आएका छन् । चारु र गजलको यो वर्गीकरणप्रति असहमति जनाउनेहारूको हिस्सा पनि धेरै नै रहेको पाइयो । हालसालै गजलसम्बन्धी पोखरा घोषणापत्रले गजल लेख्न बहर अनिवार्य छैन भन्ने कुरा पारित गरेपछि त्यसले गजल क्षेत्रमा ठुलै तरङ्ग ल्याएको छ । यस बिषयमा विचार ,विमर्श र गोष्ठीहरू पनि भैरहेका देखिन्छन् । डा न्यौपाने र डा पन्थीको यो अभियानप्रति विमति राख्नेहरूले निम्न प्रश्नहरूको जवाफ खोज्ने गरेका छन् –

१) गजल र बहरमा प्रयुक्त शब्द, पदावली र नाम नेपालीमा पनि राख्न सकिन्छ । नेपाली मौलिक लयमा पनि राख्न सकिन्छ । संस्कृतका पिङ्गल छन्दहरू बहरसँग मिल्ने भएकोले छन्दको नाम दिदा के फरक पर्छ ?

२) बहर नमिलेका रचनाहरूलाई चारु भन्ने हो भने यो सिद्धान्त लागू हुनुपूर्व गजल ब्भनेर लेखिएका सम्पूर्ण बेबहर रचनालाई अब के भन्ने ? चारु कि गजल ? गजलकारको रूपमा ख्याति कमाइसकेका गजलकारहरूलाई अब चारुकार भन्नुपर्ने हो ?

३) गीत र कविताहरू सबै छन्द र बहरमा हुँदैनन् । गजल मात्र किन बहरमा लेख्नुपर्ने हो ?

४) स्वतन्त्र रूपमा लेखिएका रचनालाई पनि सम्मान गर्नु जरुरी हुन्छ । तिनलाई फरक नाम दिएर किन विभेद गर्ने ?

५) युवापुस्ता तथा नयाँ पिढीलाई आफ्नो इच्छा र रुचि अनुसार स्वतन्त्र रूपमा लेख्नबाट किन वञ्चित गर्ने ?

छन्द र बहरमा लेख्नेहरूले बेबहरमा लेख्न चाहने गजलकारहरूलाई माथिका ५ वटा प्रश्नहरूको चित्तबुझ्दो जबाफ दिनसके मात्र बहरको अस्तित्व पनि स्वीकर गर्नसक्ने अवस्था आऊला । उही पुरानै शैलीमा एउटा समूहले अर्को समूहलाई आरोप प्रत्यारोप लगाइरहने हो भने दुवै समानान्तर रेखामा अघि बढिरहन्छन् तर मिलन भने कहिल्यै हुनेछैन

बहरबादी समूहले पोखरा घोषणापत्रको एउटा बुँदामा मात्र विमति जनाएको हो । त्यो हो बहर बिना पनि गजल लेख्न सकिन्छ भन्ने बुँदा । उनीहरूको बुझाइमा गजलबाट बहर झिकिदियो भने त्यो अपाङ्ग हुन्छ र मर्छ । कुरा सही भए पनि बेबहर गजल लेख्नेहारूको जमात ठुलो भएकोले त्यो घोषणापत्र फिर्ता गर्न सकिने अवस्था छैन । त्यस्तै ,बेबहरबादीहरूले बेबहरका रचनाहरूलाई चारु, राग ,विराग भनेर स्वीकर गर्न मान्दैनन् र बहर शब्दको उच्चारण गर्न पनि हिच्किचाउने गरेका छन् ।

गजल विवादको अहिलेको अवस्था ‘काग कराउदै छ ,पिना सुक्दैछ ‘को अवस्थामा रहेको छ । बहरबादीहरूको पनि सामाजिक सञ्जालमा आआफ्नै सङ्गठन रसमूहहरू छन् र निर्धक्क भएर बहरमा गजल अभ्यास गर्ने गराउने गरिरहेका छन् र बेबहर रचनालाई चारु भनेर लेखिरहेकै छन् । बेबहरबादीहरूले पनि गैरबहरका रचनालाई पनि गजल भनेर लेख्ने र वाचन गर्ने गरिरहेकै छन् । दुवै समूह आफ्नो अडानबाट पछि हट्ने पक्षमा देखिदैनन् र गजल विवादले दीर्घकालीन समाधान पाउला भनेर सोच्न पनि सकिदैन ।

ए जस्तो अवस्था आइपरे पनि सर्जकहरूले गजल सिर्जना गर्न छोड्नु हुँदैन र कस्ता गजलले प्रसिद्धि पाउँछन् भन्ने कुरा भविष्यले नै निर्धारण गर्ने छ र गजलको मानक सिद्धन्त प्रतिपादन हुने छ । अहिले आएर कसैले रोइलो गर्नुको कुनै अर्थ छैन ।

(विकिपिडियाको सहयोगमा तयार गरिएको )