अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 21:46

भारतीय पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि

बिआरटीनेपाल २०८१ पुष १३ गते ११:५६ मा प्रकाशित

नयाँदिल्ली, पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार दिल्लीको कश्मीरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको थियो ।

उहाँप्रति सम्मान व्यक्त गर्न सागर पुगेका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहले उहाँको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । शिख रीतिरिवाजअनुसार सिंहको अन्त्येष्टि गरिएको हो ।

कङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे, सोनिया गान्धी, राहुल गान्धीले पनि आफ्ना पूर्व नेता र पूर्व प्रधानमन्त्रीप्रति श्रद्धाञ्जली सभा तथा अन्तिम संस्कारको कार्यक्रममा सहभागी हुनुभएको थियो । पूर्वप्रधानमन्त्री सिंहको पार्थिव शरीरलाई शनिबार बिहान उहाँको निवासबाट श्रद्धाञ्जलीका लागि दिल्लीस्थित अल इन्डिया कङ्ग्रेस कमिटी (एआईसीसी) को मुख्यालयमा ल्याइएको थियो ।

दिल्लीस्थित पूर्व प्रधानमन्त्रीको निवासबाहिर पनि श्रद्धाञ्जली अर्पण गर्न कैयौँ मानिस भेला भएका थिए । यसअघि शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि गृहमन्त्री अमित शाहले काङ्ग्रेस अध्यक्ष खड़गे र स्वर्गीय सिंहको परिवारलाई सरकारले स्मारकका लागि ठाउँ छुट्याइने जानकारी गराउनुभएको थियो ।

उहाँले लामो समय भारतीय राजनीतिमा सक्रिय हुनुभएको थियो । विशेष गरी आर्थिक सङ्कटको समयमा स्थिर नेतृत्व र भारतको अर्थव्यवस्थाको आधुनिकीकरणमा उहाँको योगदानका लागि उहाँलाई सम्झना गरिन्छ । रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू