अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 02:07

दैलेखमा ग्यासको ‘भण्डारण’ भएका सङ्केत भेटिए

बीबीसी न्यूज नेपाली २०८१ पुष १३ गते ११:५१ मा प्रकाशित

पेट्रोलियम अन्वेषणका लागि दैलेखमा भइरहेको उत्खनन अन्तिम चरणमा पुग्न लाग्दा त्यहाँ प्राकृतिक ग्यास रहेको हुन सक्ने कैयौँ सङ्केतहरू भेटिएका अधिकारीहरूले बताएका छन्। तर प्राप्त नमुनाहरूको विश्लेषणपछि मात्रै व्यावसायिकरूपमा ग्यास उत्खननको सम्भावना रहे वा नरहेको थाहा हुने खानी तथा भूगर्भ विभागका विज्ञहरूको भनाइ छ। उत्तरी छिमेकी चीनको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको ‘ड्रिलिङ’ अन्तर्गत ४,००० मिटर गहिराइसम्म उपकरणको सहायतामा खनेर नमुना निकाल्न सुरु भएको थियो। शुक्रवारसम्म ३,९४४ मिटर गहिराइसम्म ड्रिलिङ सकिएको विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ।

बाँकी ५६ मिटर ड्रिलिङ छिटै सकिने आकलन गरिएको परियोजनाका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले बीबिसी न्यूज नेपालीलाई जानकारी दिए। “त्यहाँबाट व्यावसायिक रूपमा पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने निर्क्योलका लागि अझै समय लाग्न सक्छ,” त्रिपाठी भन्छन्। “अहिले विभिन्न गहिराइबाट सङ्कलन गरिएका चट्टानका नमुना थप अध्ययनका लागि चीन पठाइने छ। त्यसको विश्लेषण समेतका आधारमा मात्रै त्यहाँ कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने थाहा हुन्छ।” विभागका अनुसार चिनियाँ पक्षले दिने प्रतिवेदनबारे थप अध्ययन पछि मात्रै दैलेखमा व्यावसायिक रूपमा पेट्रोलियम पदार्थको उत्खननको सम्भाव्यता पत्ता लाग्छ।

सम्बन्धित सामग्रीहरू