अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 15:12

कृषि विश्वविद्यालय रामपुर, चितवनमा कृषि प्रदर्शनी तथा कृषक मेला

बिआरटीनेपाल २०८१ मंसिर ३० गते ४:१५ मा प्रकाशित

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा ‘कृषि प्रदर्शनी तथा कृषक मेला’ चलिरहेको छ । पाँच दिने मेलाको आज दोस्रो दिन हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकाय परिसरमा हिजोदेखि मेला सुरु भएको हो ।मेलाको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले उद्घाटन गर्नुभयो । उहाँले बागमती प्रदेश माछा, ब्रोइलर कुखुरा र दुधमा आत्मनिर्भर निकट अवस्थामा पुगेको बताउनुभयो । साथै अबका दिनमा अन्नबालीमा आत्मनिर्भर बनाउन मन्त्रालयले ध्यान केन्द्रीत गरेको जानकारी दिनुभयो ।

मेला आयोजक सचिवालयका संयोजक एवम् विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्राध्यापक डा. ऋषिराम कट्टेलले किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताउनुभएको छ । कृषि प्रदर्शनी तथा कृषक मेलामा कृषि, पशु व्यवसाय तथा भेटेरीनरी र वन क्षेत्रका गरी ९६ वटा स्टल रहेका छन् । बाली बीमा, बैकिङ सुविधा एवं परामर्श, कृषि प्रविधिको प्रदर्शनी, निःशुल्क पशु स्वास्थ्य शिविर, बाली उपचार शिविर, रैथाने बाली प्रदर्शनी, माटो परिक्षण सुविधा, कृषक तालिम तथा विभिन्न प्रतियोगिता मेलाका मुख्य आकर्षण रहेका छन् । मेलामा कृषि प्रविधि, नवप्रवर्तन तथा अनुसन्धानका विषयमा छलफल हुनेछ ।

कृषि, पशुपन्छी तथा वनका क्षेत्रमा उद्यम, व्यवसाय, नवप्रवर्तन र अनुसन्धानमार्फत योगदान पुर्याएका विश्वविद्यालयका पूर्व विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको संयोजक कट्टेलले जानकारी दिनुभयो । किसान, विद्यार्थी र अनुसन्धानकर्ताबीच छलफल तथा कृषि क्षेत्रमा देखिएका समस्याको समाधानका लागि मेला महत्वपूण रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले बताउनुभयो । मेला पुस तीन गते बुधबारसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू