अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 17:47

दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित

बिआरटीनेपाल २०८१ मंसिर २९ गते ६:४३ मा प्रकाशित

दक्षिण कोरियाको संसद्ले राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ । महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेका छन् । यही डिसेम्बर ३ मा सैनिक शासन लागु गर्ने युनको असफल प्रयासपछि दक्षिण कोरियामा एक हप्ताभन्दा बढीे तीव्र राजनीतिक तनाव निम्त्याएको थियो । राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव संसद्‌बाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौँको संख्यामा र्‍याली निकालियो ।

मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागु गर्ने असफल प्रयासका निम्ति माफी नमागेको बताउनुभएको छ । कुल ३०० संसद् सदस्य रहेको कोरियाली संसद्‌मा २०४ सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरे । ८५ जनाले महाभियोगको विपक्षमा मतदान गरे । मतदानमा तीन सांसद अनुपस्थित रहे । आठ मत बदर भएको थियो ।

महाभियोगसँगै युनलाई पदबाट निलम्बन गरिएको छ । दक्षिण कोरियाको संवैधानिक अदालतले मतदानपछिको अवस्थाबारे छलफल सुरु गरेको छ । अदालतलाई युनको भविष्यबारे फैसला गर्न १८० दिनको समय दिइएको छ । यदि, पदबाट हटाइए युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्नुहुनेछ । प्रधानमन्त्री हान डक सोले राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित भएसँगै सञ्चारकर्मीसँग भन्नुभयो, “दक्षिण कोरियाली प्रधानमन्त्रीको रूपमा मेरो सम्पूर्ण शक्ति र प्रयास स्थिर शासन सुनिश्चित गर्न समर्पित हुनेछ ।”

महाभियोग पारित हुन २०० मत आवश्यक थियो । विपक्षी सांसदहरूले युनको कन्जरभेटिभ पिपुल पावर पार्टी ९पीपीपी०का कम्तीमा आठ सांसदलाई दल बदल्न राजी गराउन आवश्यक थियो । “आजको महाभियोग जनताको ठूलो जित हो,” विपक्षी डेमोर्क्र्याटिक पार्टीका नेता पार्क चान–डेले मतदानपछि भन्नुभयो । उहाँले अबको १८० दिनभित्र आउने अदालतको फैसलाले कोरियाली जनतालाई प्रजातन्त्र र स्वतन्त्रताप्रतिको आत्मसम्मानलाई प्रकट गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू