नेपाल प्रहरीले आठ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को पदस्थापन तथा काज सरुवा गरेको छ । प्रहरीले सूचना प्रकाशन गर्दै जिम्मेवारी सहितको सरुवा गरेको जनाएको हो । लुम्बिनी प्रदेशमा डीआईजी दान बहादुर कार्की र कोशी प्रदेशमा राजन अधिकारीलाई सरुवा गरिएको छ । यस्तै भोला बहादुर रावललाई गण्डकी प्रदेशमा र गणेश चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको पहरी प्रधान कार्यालयले जनाएको छ ।
गृहमन्त्री रमेश लेखकको निर्णय अनुसार बढुवा भएका ८ जना डीआईजीहरुलाई पदस्थापन गरिएको छ । विशेष ब्युरोमा सिद्धिविक्रम शाहलाई पदस्थापन गरिएको छ भने केन्द्रीय अनुसन्धान ब्युरोमा कोशी प्रदेशमा कार्यरत चन्द्र कुवेर खापुङलाई लगिएको छ ।
यसैगरि डम्बर बहादुर विकलाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभाग, हिमाल कुमार श्रेष्ठलाई अख्तियार र उमाप्रसाद चतुर्वेदीलाई प्रधान कार्यालयस्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पदस्थापन गरिएको जनाइएको छ । यस्तै रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा ध्रुवराज राउतलाई पदस्थापन गरिएको छ ।