अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 08:00

एनपिएलमा सोचेअनुरूप खेल्न सकेनौं : रोहित पौडेल

बिआरटीनेपाल २०८१ मंसिर २६ गते ६:०३ मा प्रकाशित

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पाँचौं हारसँगै प्लेअफ होडबाट बाहिरिएपछि समग्रमा नेपाल प्रिमियर लिग (एनपिएल)को यात्रामा लक्ष्यअनुरूपमा खेल्न नसकेको बताएका छन् ।काठमाडौं गुर्खाजसँगको हारपछि भएको पत्रकार सम्मेलनमा लुम्बिनीका कप्तान रोहितले आफ्नो क्षमताअनुरूप टोलीले नै खेल्ने नसकेको बताएका हुन् । सुरुका खेलमा बलिङमा चुकेको र पछिका ब्याटिङमा राम्रो हुन नसक्दा खराब नतिजा सामना गरेको उनको बुझाइ छ । उनले समग्रमा लुम्बिनीको लागि पहिलो संस्करण राम्रो नभएको उल्लेख गरे ।

साथै रोहितले काठमाडौंले दिएको लक्ष्य भेट्टाउन सकिने खालको रहेको बताए । तर आफ्नो टोलीले राम्रो ब्याटिङ गर्न नसकेको उनको भनाइ छ । रोहितले एउटै मैदानमा धेरै खेलिरहँदा विकेट स्लो भएपनि आफ्ना ब्याटरले योजनाअनुरूप खेल्न नसकेको उल्लेख गरे । काठमाडौंका स्पिनरले पनि धेरै राम्रो बलिङ गरेको उनी बताउँछन् । उनले आगामी सिजनबारे अहिले नै नसोचेको बताए । विकेट सोचेअनुरूपमा नभएकाले धैर्यतापूर्वक खेल्नुपर्ने उनको धारणा छ । काठमाडौंका लागि किफायती बलिङसँगै विकेट लिएका दीपेश कँडेलले जित्नैपर्ने खेलमा सबैले इफोर्ट लगाउँदा जित सम्भव भएको बताए ।

सामान्य लक्ष्य दिएपनि यो रक्षा गर्न सकिन्छ भन्ने काठमाडौंले विश्वास लिएको दीपेशले उल्लेख गरेका छन् । सन्दीप जोरा क्रिजमा रहँदा विकेटभन्दा पनि डट बल फ्याक्ने लक्ष्य रहेको उनको भनाइ छ । उनले आफ्नो लक्ष्य पनि सकेसम्म डट बल फ्याँक्ने रहेको बताए । आगामी हरेक खेलमा ध्यान दिएर जित निकाल्ने लक्ष्य रहेको उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू