उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान आर्थिक प्रगतिसँग आफू सन्तुष्ट नभएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा अर्थसमिति मात्रै नभएर आफू स्वयं सन्तुष्ट नभएको बताउनुभयो । उहाँले अर्थतन्त्रमा समस्या भएपनि पछिल्लो समय सुधार हुँदै गएको बताउनुभयो । उहाँले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरु क्रमशः समाधान गर्दै गएको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री पौडेलले लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने भन्दै अर्थतन्त्र सुधारको लागि केही समय लाग्ने बताउनुभयो । उहाँले विदेशी मुद्राको सञ्चिति, तरलता, बैंकको ब्याजदर एकल अंकमा आएको र मूल्यवृद्धि नियन्त्रणमा रहेको बताउनुभयो ।अर्थमन्त्री पौडेलले शेयर बजार लगायत अर्थतन्त्रका केही पक्षहरुमा सकारात्मक अवस्था रहेको दाबी गर्नुभयो । उहाँले सरकारले समस्याहरुका चाङलाई एक-एक गरेर पन्छाउँदै उपलब्धीहरु आर्जन गर्नुवर्ने र त्यसका लागि सार्थक प्रयास चालिरहेको बताउनु भयो । उहाँले राजश्व परिचालनका सन्दर्भमा पनि चालु आर्थिक वर्षको तीन महिनामा १७ प्रतिशत वृद्धि गरेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले राजश्वको लक्ष्य पूरा गर्न ३०/३१ प्रतिशतको वृद्धि गर्नुपर्ने बाध्यता सरकारलाई रहेको बताउनुभयो । उहाँले त्यसको लागि सरकारले राजस्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा निरन्तर काम गरिरहेको बताउनुभयो ।अर्थमन्त्री पौडेलले शेयर बजारमा हुने सर्कुलर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसन नियन्त्रणमा निरन्तर काम भइरहेको दाबी गर्नुभयो । उहाँले सेयरबजारमा हुने पम्पिङ एण्ड डम्पिङ, सर्कुलर ट्रेडिङ, कर्नरिङजस्ता गतिविधि नियन्त्रणमा राख्ने बताउनुभयो । उहाँले पछिल्लो समय शेयरबजार केही सुधार हुँदै गएको भन्दै नेपाल धितोपत्र बोर्डले पनि लामो समयपछि नेतृत्व पाएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले बजारमा अनियमित काम भएको गुनासोलाई कम गर्नेगरी काम गरिरहेको बताउनुभयो । उहाँले नियमनको पाटो बलियो बनाउँदै लग्ने कार्यमा सरकार लागि परेको बताउनुभयो । उहाँले पुँजीबजारको दिगो व्यवस्थापन र प्रवद्र्धनमा सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो । उहाँले लगानीको वातावरण बनाउने कुरामा कानूनहरु अन्तरविरोधी रहेको भन्दै आवश्यक कानून संशोधन गरी लगानीको वातावरण बनाउने बताउनुभयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार निरन्तर लागिपरेको उल्लेख गर्नुभयो । उहाँले बैंकमा भएको तरलतालाई उत्पादनमुलक काममा लाग्नु आवश्यक रहेको बताउनुभयो ।