संसारकै धनी व्यक्ति एलन मस्कले अमेरिकी राष्ट्रपतिको चुनावका क्रममा डोनाल्ड ट्रम्पको अभियानलाई २५ करोड डलरभन्दा धेरै चन्दा दिएको खुलेको छ । नेपालीमा यो रकम झन्डै ३४ अर्ब रुपैयाँ हुन आउँछ ।यो रकम सन् २०१० पछि कुनै पनि दाताले कुनै पनि उम्मेदवार र दललाई दिएको चन्दामध्ये सबैभन्दा धेरै हो । स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका मस्कले ट्रम्पको ह्वाइट हाउस प्रवेशमा ठूलो भूमिका खेल्नुभएको थियो ।
गैरनाफामूलक संस्था ओपनसेक्रेट्सको तथ्याङ्कअनुसार मस्कले ट्रम्पको चुनावी अभियानमा खर्चको कुनै कमी हुन दिनुभएको थिएन । मस्कले शुरूमै २० करोड डलर ट्रम्पको अभियानलाई दिनुभएको थियो । त्यसपछि पाँच करोड डलर विभिन्न घुमाउरो बाटोबाट दिएको उल्लेख छ ।
नोभेम्बरमा भएको चुनाव जितेपछि एलन मस्क ट्रम्पका सबैभन्दा नजिकका सहयोगी बन्नुभएको छ । उनीहरूबीच निकै लामो समयको साझेदारी हुने सम्भावना छ । ट्रम्प टेक्सासमा स्पेसएक्स कम्पनीले गरेकाे रकेट प्रक्षेपण हेर्नका लागि पनि पुग्नुभएको थियो । ट्रम्पले एलन मस्कलाई सरकारी दक्षता विभागको प्रमुखको रूपमा चयन गर्नुभएको छ । जसको उद्देश्य सङ्घीय खर्चमा अर्बाैं डलर कटौती गर्नुरहेको छ ।