अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३५ | Colorodo: 15:50

पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, पूर्वप्रदेश प्रमुख शेरचनबारे पनि छलफल

बिआरटीनेपाल २०८१ मंसिर २० गते ४:४९ मा प्रकाशित

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको पदाधिकारी बैठकमा निरन्तर सहभागी हुन थाल्नुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै आग्रहमा पुन सक्रिय राजनीतिमा फर्किने तयारी गरेकाले पदाधिकारी बैठकमा उपस्थित हुन थाल्नुभएको हो । आज अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पनि पुन सहभागी भएको सचिव दिनानाथ शर्माले बताउनुभयो। प्रचण्डले पुनलाई उपाध्यक्ष बनाउने तयारी गर्नुभएको छ ।

सचिव शर्माले भन्नुभयो, ‘उहाँ बैठकमा आउन थाल्नुभएको छ, जिम्मेवारीबारे निर्णय भएको छैन। अब २७ र २८ गतेका लागि स्थायी कमिटीको बैठक बोलाइएको छ। त्यसले निर्णय गर्नसक्छ। त्यसबारे थप निर्णय गर्नुपरे पुस २ गतेबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पनि छलफल हुन्छ।’ पुनले सक्रिय राजनीतिमा फर्किएको संकेत हिजो काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान कार्यक्रमबाटै गरिसक्नुभएको छ। प्रतिक्रियावादीहरु समावेशी, समानुपातिक, संघीयतालाई दायाँबायाँ गर्न खोजे आफू रातो मान्छे भएर उभिन तयार रहेको बताउनुभएको थियो ।

प्रचण्डले पुनसँगै लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई पनि सक्रिय राजनीतिमा फर्काउँदैहुनुहुन्छ। शेरचनलाई पनि उपाध्यक्ष बनाउनेगरी छलफल चलिरहेको भएपनि निर्णयमा नपुगेको स्रोतले जनाएको छ । स्रोतले भनेको छ, ‘उहाँ पनि अध्यक्षको निरन्तर सम्पर्कमा हुनुहुन्छ। उपाध्यक्ष बनाउने भन्नेबारे अहिले बाहिर चर्चा भइरहेको छ। तर, उहाँको बिषयमा अध्यक्षले केही भन्नुभएको छैन। छलफलमै हुनुहुन्छ होला।’ माओवादीले यसअघि पनि सभामुख भएका अग्निप्रसाद सापकोटालाई पार्टी उपाध्यक्ष बनाएर सक्रिय राजनीतिमा फर्काएको थियो। सापकोटा अहिले प्रवक्ताको जिम्मेवारीमा पनि हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू