अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 19:16

स्थानीय उपनिर्वाचनको मत हाम्रो एजेन्डाको अनुमोदन- प्रचण्ड

बिआरटीनेपाल २०८१ मंसिर १८ गते ६:१९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय उपनिर्वाचनमा आफ्नो दलले पाएको मतले आफ्नो दलको एजेन्डा र अभियान जनताले अनुमोदन गरेको पुष्टि भएको उल्लेख गर्नुभएको छ। उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई आफ्नो पार्टीले आफ्नै एजेण्डा र आफ्नै एकल पहिचानका साथ प्रतिष्पर्धा गर्न प्राप्त गरेको जनादेशको रुपमा लिएको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले स्थानीय उपनिर्वाचनमा आफ्नो दललाई मत हाल्ने मतदाताहरुप्रति आभार प्रकट पनि गर्नुभएको छ । त्यस्तै उहाँले आफ्नो दलबाट निर्वाचित सबै जनप्रतिनिधिलाई बधाई पनि दिनुभयो । त्यसैगरी प्रचण्डले निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई पनि धन्यवाद व्यक्त गर्नुभएको छ । प्रचण्डले आफ्नो दलले यसपटकको निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको उल्लेख गर्दै आफ्नो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्‍याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएको पनि उल्लेख गर्नुभएको छ । उहाँले निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको उल्लेख गर्दै विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले आफ्नो दललाई उत्साहपूर्ण समर्थन प्रकट गरेको बताउनुभयो ।

प्रचण्डले विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहजरुपमा जनताको घरदैलोमा पुर्‍याउने दायित्व स्थानीय सरकारको काँधमा रहेको पनि बताउनुभयो । उहाँले भन्नुभएको छ- ‘हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, आगामी दिनमा यसलाई बढाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर हाम्रा सबै जनप्रतिनिधिलाई पूर्णरुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध छ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू